काठमाडौं- सरकारले निजामती सेवाका करिब ८० जना वरिष्ठ सहसचिवको एकैपटक प्रदेशमा सरुवा गरेको छ। चालु आर्थिक वर्षभित्रमा सचिवमा बढुवा हुने वा उमेरहदका कारण अनिवार्य अवकाश पाउनेबाहेक प्रशासन र प्राविधिक दुवै समूहका गरी ती सहसचिवको प्रदेशमा सरुवा गरिएको हो।
सहसचिव सरुवाको प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ। सरुवा भई जाने स्थान पनि तय भइसकेको र अब पत्र दिन मात्रै बाँकी रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जनाएको छ।
प्रशासन सेवातर्फ वरिष्ठ सहसचिव वीरेन्द्रकुमार यादव हुन्। उनी अहिले पनि काठमाडौं बाहिरै छन्। २०३१ असार १५ गते जन्मिएका यादवको उमेरहदले अवकाश पाउने समय धेरै छ। उनले सचिव बढुवा हुन लिनुपर्ने तालिम नलिएकाले वरिष्ठको सूचीमा पहिलो नम्बरमा भएर पनि बढुवा हुन पाएका छैनन्। सहसचिवहरु चुडामणि शर्मा र चन्द्रमान श्रेष्ठमाथि भ्रष्टाचारको आरोप विचाराधीन रहेकाले उनीहरुको बढुवा हुने छैन।
यो समूहमा बढुवाको योग्यता पुगेका मध्ये वरिष्ठ सहचिव दिनेश भट्टराई हुन्। स्रोतले दिएको जानकारीअनुसार भट्टराईसँगै वरिष्ठताको सूचीमा अगाडि रहेका सहसचिवहरु रामकृष्ण सुवेदी (गृह मन्त्रालय), एकनारायण अर्याल (महावाणिज्यदूत, कलकत्ता), रामशरण पुडासैनी (अर्थ मन्त्रालय) र अर्जुनप्रसाद पोखरेल (प्रमुख जिल्ला अधिकारी, रुपन्देही)को सरुवा भएको छैन। सरुवाको सुचीमा राष्ट्रपति कार्यालयमा कार्यरत लक्ष्मीकुमारी बस्नेतपछिका वरिष्ठ सहसचिव रहेका छन्।
अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपाललाई कर्णाली प्रदेश पठाइएको छ। भन्सार विभागका महानिर्देशक रामेश्वर दंगालको सरुवा गण्डकी प्रदेशमा भएको छ।
उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहको पनि सरुवा भएको छ। उद्योगकै सहसचिव मधुकुमार मरासिनीको पनि सरुवा भएको छ। 'प्रशासनतर्फकै ५० जनाभन्दा धेरै वरिष्ठ सहचिवहरुको सरुवा भएको छ,' स्रोतले भन्यो। प्रदेश १ को अर्थ तथा योजना मन्त्रालयका सचिव जीवनप्रकाश सिटौलाको सरुवा उद्योग मन्त्रालय काठमाडौंमा भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।