काठमाडौं- सरकारले नवलपरासी जिल्लाको धौवादीमा फलाम खानी संचालन गर्नका लागि सार्वजनिक संस्थान खोल्ने निर्णय गरेको छ।
सञ्चार तथा सूचना प्रविधमन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै उक्त फलामखानी संचालन गर्न धौवादी फलामखानी लिमिटेड स्थापना गरिएको जानकारी दिए।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘यसै आर्थिक वर्षदेखि नवलपरासीको धौवादीमा रहेको फलामखानीबाट व्यावसायिक उत्पादन सुरु गरिने’ उल्लेख छ।
सरकारको वार्षिक नीति तथा कार्यक्रमअनुसार नै यस्तो कम्पनी स्थापना गर्ने निर्णय मन्त्रीपरिषद बैठकले गरेको हो।
नवलपरासी जिल्लाको पूर्वमा धौवादी देखी पश्चिममा नाम्जाकोट, दक्षिणमा रुम्से र उत्तरमा लापेसम्मको १० किलोमिटर क्षेत्रफलमा फलामखानी रहेको छ।
उक्त फलामखानी २०६८ सालमा खानी तथा भूगर्भ विभागको अध्ययन टोलीले पत्ता लगाएको थियो।
खानीबाट करिब सवा २ करोड टन फलाम निकाल्न सकिने विभागले गरेको अध्ययनले देखाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।