काठमाडौं- उच्च अदालत, पाटनले पेट्रोलियम पदार्थमा ठगी गर्दै आएको आरोप लागेका राजधानीका दुई पम्पमाथि शिलबन्दी गर्न बाटो खुल्ला गरिदिएको छ।
पम्पहरुले हालेको मुद्दा खारेज गर्दै उच्च अदालतले चुच्चेपाटी फ्युल सेन्टर र मैतीदेवी पेट्रोल सप्लायर्समा पेट्रोलियम पदार्थ बेचबिखन गर्न नपाउने गरी शिलबन्दी गर्न बुधबार नेपाल गुणस्तर तथा नापतौल विभाग, बालाजुलाई बाटो खोलेको हो।
न्यायाधीशहरू श्रवणकुमार गौतम र टेकनारायण कुँवरको संयुक्त इजलासले शिलबन्दी लगाउने निर्णयलाई कानुनसम्मत ठहर गरेर पम्पहरुको रिट खारेज गरिदिएको हो। सरकारले कालोबजारी गरेको आरोपमा २०७५ माघ ६ गते निर्णय गरी ती दुई पम्पमा त्यसको भोलिपल्टै शिलबन्दी गरेकोे थियो।
साथै, दुई पम्पविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दासमेत दायर गरेको थियो। मुद्दा विचाराधीन रहँदै ती दुई पम्पले शिलबन्दी खोल्न माग गर्दै निवेदन दिएका थिए। तर, काठमाडौं जिल्ला अदालतले मागबमोजिम शिलबन्दी खोल्न अस्वीकार गरेको थियो।
काठमाडौं जिल्ला अदालतले शिलबन्दी खोल्न अस्वीकार गरेपछि ती दुई पम्पले उच्च अदालत, पाटनमा २०७६ जेठ १ गते रिट निवेदन दायर गरेका थिए। सो अदालतका तत्कालीन मुख्यन्यायाधीश कुमार चुडाल र न्यायाधीश शान्ता सेढाईंको संयुक्त इजलासले ती दुई पम्पमा लगाइएको शिलबन्दी खोल्न जेठ २ गते अन्तरिम आदेश दिएको थियो। सो बमोजिम ती निकायले निर्वाधरूपमा पेट्रोलियम पदार्थ बेचबिखन गर्दै आएका थिए।
उच्चको फैसलापछि अब दुवै पम्पमा पुनः शिलबन्दी हुनेछ।
ती दुई पम्पले दायर गरेको रिटको बुधबार अन्तिम सुनुवाइ गरी उच्च अदालतले काठमाडौं जिल्ला अदालतमा भएको मुद्दाको अन्तिम टुंगो लागेपछि त्यसबारेमा सम्बोधन हुने भन्दैै हाललाई पुनः शिलबन्दी गर्न आदेश दिएको हो।
आदेशमा गत जेठ २ गते दिइएको अन्तरिम आदेश निष्क्रिय हुने पनि उल्लेख गरिएको छ। साथै गत माघ ७ मा लगाइएको शिलबन्दी समेतको कार्य यथास्थितिमा राख्ने गरी व्यवस्था गर्न आदेशमा स्पष्ट पारिएको छ।
स्ट्यान्डर्ड नाप र तौल नियम, २०२७ को नियम १६ (१) (घ) मा कानुन उल्लंघन गर्ने निकायलाई आवश्यक कारबाही गर्न सकिने प्रावधानबमोजिम सरकारले ती दुई पम्पविरुद्ध शिलबन्दी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।