काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज पुनः सिंगापुर जाने भएका छन्।
प्रधानमन्त्री ओली थाई एयरबाट दिउसो साढे १ बजे सिंगापुरतर्फ जाने कार्यक्रम तय भएको बताइएको छ।
यसअघि साउन १८ गते उनी स्वास्थ्य उपचारका लागि सिंगापुर गई एक साताभन्दा बढी समयको उपचारपछि स्वदेश फर्किएका थिए। प्रधानमन्त्री ओलीले सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराउने बताइएको छ। यसअघि पनि उनी सोही अस्पतालमा उपचार गराएर स्वदेश फर्किएका थिए।
उक्त समयमा चिकित्सकहरुले एक साता सिंगापुरमा नै बस्न आग्रह गरेको भए पनि देश सञ्चालन तथा केही महत्वपूर्ण राजनीतिक निर्णयका लागि उनी काठमाडौं फर्किएका थिए। सोपश्चात् नेकपा एकता प्रक्रियामा अड्किएका महत्वपूर्ण विषयमा निर्णय लिइएको छ।
शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन सत्य निरुपण तथा बेपत्ता परािएकाहरुको छानबीन आयोगमा नियुक्तिका सम्बन्धमा समेत सरकारले अग्रसरता देखाएको थियो। यसबीचमा प्रधानमन्त्रीले सर्वदलीय बैठक डाकेर महत्वपूर्ण विषयहरुमा छलफलसमेत गरेका थिए।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीको रगतमा क्रियाटिनिनको मात्रा अझै घट्न नसकेको कारण समस्या भइरहेको छ। चिकित्सकको रायअनुसार प्रधानमन्त्रीको पुनः मृगौला ट्रान्सप्लान्टसमेत हुनसक्ने बताइएको छ।
यसअघि करिब १२ वर्षअघि उनको मृगौला फेरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।