काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री शुब्रमण्यम् जयशंकरबीच शिष्टाचार भेटवार्ता भएको छ।
नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेशमन्त्री जयशंकरले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटर पुगी बुधबार शिष्टाचार भेट गरेका हुन्।
भेटमा दुवैतर्फ स्थिर सरकार रहेकाले राजनीतिक स्थायित्व भएको भन्दै दुई देशबीचका नीतिगत स्थायित्वलाई पनि अगाडि बढाएर लैजानुपर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार डा राजन भट्टराईले जानकारी दिएका छन्।
भेटमा भारतीय विदेशमन्त्री जयशंकरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको सन्देश सुनाउनुका साथै प्रबुद्ध समूहको प्रतिवेदनलाई उपयुक्त समयमा बुझ्ने जानकारी गराएको भट्टराईले बताए।
भारतीय विदेशमन्त्री जयशंकर नेपाल भारत संयुक्त आयोगको पाचौँ बैठकमा सहभागी हुन भारतीय पक्षको नेतृत्व गर्दै बुधबार दिउँसो काठमाडौं आएका हुन्।
सबै तस्बिर: भारतीय दूतावास, काठमाडौं
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।