काठमाडौं– चालू अवस्थामा रहेका विदेशी च्यानलहरु विज्ञापन ऐन लागू भएको एक वर्षभित्र क्लिन फिड प्रसारण हुनुपर्ने प्रावधानसहित 'विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको विधेयक' संसदीय समितिबाट पास भएको छ। राष्ट्रियसभाले पारित गरेको उक्त विधेयकलाई प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले केही परिमार्जनसहित बुधबार पास गरेको हो।
बहुचर्चित क्लिन फिडका सम्बन्धमा संशोधन गर्दै भनिएको छ, ‘ऐन प्रारम्भ भएको बखतमा विदेशी च्यानलसँग डाउनलिंक गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले यो ऐन प्रारम्भ भएको एक वर्षभित्र विज्ञापन रहित (क्लिन फिड) प्रसारण गर्नुपर्नेछ।’
राष्ट्रियसभाले नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि क्लिन फिड लागू हुने पारित गरेको थियो। शक्ति केन्द्रको प्रभावमा राजपत्रमा प्रकाशन गर्न आलटाल हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै परिमार्जन गरिएको हो।
यसैगरी विज्ञापन बोर्डको अध्यक्षको पदावधि एक वर्ष थपिएको छ। राष्ट्रियसभाले तीन वर्षको हुने पारित गरेकोमा समितिले चार वर्ष बनाएको हो।
विधेयकमा नयाँ दफासमेत थपिएको छ। उक्त दफामा नेपाल सरकारले गर्ने सवै विज्ञापन बोर्डमार्फत गर्नुपर्ने प्रावधान थपिएको हो। क्रमानुसार दफा ३२ हुनेगरी थपिएको उक्त प्रावधानमा भनिएको छ, ‘नेपाल सरकार वा नेपाल सरकार अन्तर्गतका निकायले लोक कल्याणकारी वा अन्य विज्ञापन वा सूचना प्रकाशन तथा प्रशारण गर्दा बोर्डमार्फत गर्नुपर्नेछ। त्यस्तो विज्ञापनको रकम बोर्डमार्फत खर्च गर्नुपर्नेछ।’ (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।