काठमाडौं- नेपाल-भारत संयुक्त अयोगको बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन्।
बंगलादेशको राजधानी ढाकाबाट उनी काठमाडौं उत्रिएका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव शंकरदास वैरागी, नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी लगायतले स्वागत गरेका थिए।
दुवै देशका परराष्ट्र मन्त्रीले अध्यक्षता गर्ने आयोगको बैठक प्रत्येक दुई-दुई वर्षमा बस्नुपर्ने भए पनि एक वर्ष ढिला गरी आजबाट काठमाडौँमा सुरु हुँदैछ। उनी नेपालका समकक्षी प्रदीप ज्ञवालीसँगै संयुक्त संयन्त्र बैठकमा सहभागी हुनेछन्।
सन् १९८७ मा स्थापना भएको संयुक्त आयोगको चौथो बैठक सन् २०१६ मा नयाँ दिल्लीमा बसेको थियो। दुवै देशमा पालैपालो बस्नुपर्ने रितअनुसार पाँचौं बैठक बुधबार र बिहीबार काठमाडौंमा बस्न लागेको हो।
बैठकमा नेपालले मुख्यतः छलफलका लागि ५ एजेन्डाको तयारी गरेको छ। राजनीतिक, सुरक्षा र सीमा, कनेक्टिभिटी र आर्थिक सहयोग, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत र शिक्षा तथा संस्कृतिबारेका विषयमा केन्द्रित रहेर त्यसमा भएका प्रगतिको समीक्षा गर्ने तयारी नेपालको छ।
भारतले भने मुख्यगरी दुई विषयलाई जोडका साथ उठाउने तयारी गरेको छ। सीमापार सुरक्षा र भारतीय लगानीमा सञ्चालित परियोजना कार्यान्वयन भारतीय पक्षले उठाउने विषय हुनेछन्।
संयुक्त बैठकमा भारतले सीमापार सुरक्षा र भारतीय लगानीमा सञ्चालित परियोजना कार्यान्वयनको विषयलाई बढी जोड दिने भएको छ। हालै भारतले संविधानको धारा ३७० खारेज गर्दै जम्मू-काश्मीरको विशेषाधिकार समेत खारेज गरिदिएको सन्दर्भमा खुला सिमाना रहेको नेपालसँग भारतले सीमापार सुरक्षालाई विशेष चासोका साथ उठाउने ठानिएको छ।
नयाँ संविधान जारी हुने संघारमा मोदीको विशेष दूतका रुपमा आएर संविधान घोषणामा व्यवधान खडा गर्न खोजेपछि नेपालमा जयशंकरको ‘इमेज’ धमिलिएको छ। दिल्ली फर्किएलगत्तै नेपालमा नाकाबन्दी लागेपछि धेरैले उनैलाई ‘नाकाबन्दीका डिजाइनर’ समेत मान्ने गरेका छन्।
यस्तोमा जयशंकर कसरी प्रस्तुत होलान् र यसले कस्तो प्रभाव पार्ला भन्ने चासो सबैलाई छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।