काठमाडौं- राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश नम्बर १ मा दुई सदस्यका लागि मात्र निर्वाचन हुने भएको छ।
सोमबार ६ जना निर्विरोध निर्वाचित भएपछि दुई पदमा मात्र प्रतिस्पर्धा हुने भएको हो। माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा प्रदेश नम्बर १ मा दलित र अल्पसंख्यक गरी दुई पदका लागि मतदान हुनेछ। उक्त पदका लागि ४ जना प्रतिस्पर्धी चुनावी मैदानमा छन्।
दलिततर्फ १ पदका लागि नेकपा एमालेबाट खेमराज नेपाली र नेपाली कांग्रेसबाट बिनकुमार विश्वकर्मा चुनावी मैदानमा छन्। त्यस्तै, अल्पसंख्यक र अपांगतातर्फ एमालेबाट अगमप्रसाद बान्तवा राई र कांग्रेसबाट महेशकुमार जाजु चुनावी मैदानमा छन्।
अल्पसंख्यक र अपांगतातर्फ राप्रपाका अनुपमादेवी साह र अन्य समूहबाट एमालेका खड्गप्रसाद बस्नेतले आ–आफ्नो उम्मेदवारी फिर्ता लिएपछि ६ जना निर्विरोध चयन भएका थिए।
प्रदेश नम्बर १ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार खुलातर्फ एमालेका परशुराम मेघी गुरुङ (संखुवासभा), कांग्रेसका रमेशजंग रायमाझी (मोरङ) र एमालेका हरिचरण शिवाकोटी (झापा) निर्विरोध निर्वाचित भएका हुन्। यस्तै, महिलातर्फ एमालेकी नैनकला ओझा (मोरङ), माओवादी केन्द्रकी बिना पोखरेल (मोरङ) र कांग्रेसकी सरिता प्रसाईं (झापा) निर्विरोध चयन भएका छन्।
राष्ट्रियसभाको निर्वाचनमा प्रदेश नम्बर २ मा भने सबै उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।