काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माले अकुत सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।
शर्माले सार्वजनिक सेवामा प्रवेश गरेपश्चात् २०७३ मंसिर मसान्तसम्म ४ करोड २९ लाख बराबर अकुत सम्पत्ति आर्जन गरेको अख्तियारले आरोपपत्रमा जनाएको छ। शर्माले चल-अचल सम्पत्ति एवं सेयर लगानी लगायतका शीर्षकहरुमा समेत गरी ७ करोड ९३ लाख २७ हजार ८५ खर्च गरेको देखिएको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ।
शर्माले वैध आयबाट ३ करोड ६३ लाख ७२ हजार ९ सय ६१ रुपैया आर्जन गरेको उल्लेख गरिएको छ। शर्माको कुल आर्जनमध्ये ४ करोड २९ लाख ५४ हजार १ सय २४ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको तथा सम्पत्ति विवरण अमिल्दो देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
शर्मा र निजको परिवारले अस्वाभाविक रुपमा उच्च जीवनस्तर यापन गरी हैसियतभन्दा बढी रकम आफ्नो र श्रीमती तथा छोराहरुको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा राखेको देखिएको अख्तियारले जनाएको छ। यसका साथै कम्पनीको सेयर खरिद तथा लगानी गरेको, सवारी साधन, जग्गा र घर लगायत चलअचल सम्पत्तिहरु खरिद गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
शर्माले आर्जन गरेको स्रोत पुष्टि हुन नसकेकाले उक्त सम्पत्ति भ्रष्टाचार निवारण ऐन अनुसार जफत हुनुपर्ने अख्तियारले दाबी गरेको छ। गैरकानुनी रुपमा लुकाएको रकम शर्माले श्रीमती कल्पना उप्रेती शर्माको नाममा राखेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन अनुसार जफत हुनुपर्ने आरोपपत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।