काठमाडौँ- संक्रमणकालीन न्यायसम्बन्धी बाँकी विषय टुंग्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।
प्रधानमन्त्री ओलीले मंगलबार ५ बजेका लागि संसदमा प्रतिनिधित्व गर्ने सबै दल र बुधबार ५ बजेका लागि सत्तारुढ नेपाल कम्युनष्टि पार्टी (नेकपा) र प्रमुख विपक्षी दल नेपाली कांग्रेसको बैठक बोलाएका हुन्।
सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिनसम्बन्धी आयोगले यसै हप्तामा पूर्णता पाउने बताएको भोली पल्टै प्रधानमन्त्री ओलीले सर्वदलीय र दुई दलीय बैठक बोलाएका हुन्।
आइतबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई आयोगले यसै हप्तामा पूर्णता पाउनेमा आफू विश्वस्त रहेको बताएका थिए।
‘हामीले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिनसम्बन्धी आयोग गठनका लागि प्रमुख आयुक्त, आयुक्तहरुको सिफारिस गर्न समिति निर्माण गरेका छौं,’ उनले भनेका थिए, ‘सिफारिस समिति हाल क्रियाशील छ। र, मैले विश्वास लिएको छु यसै हप्ताभित्र दुवै आयोग गठन हुनेछ।’
नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले दुई आयोगमा नाम सिफारिस गर्न बनाइएको समितिलाई सहयोग गर्न प्रधानमन्त्रीले दुईवटा बैठक बोलाएको बताए।
‘प्रधानमन्त्रीज्यूले भोलि ५ बजे सर्वदलीय र पर्सि ५ बजे दुईदलीय बैठक बोलाउनु भएको छ,’ नेपाल लाइभसँग उनले भने, ‘आयोगमा नाम टुंगो लागाउन सिफारिस समिति बनाइएको छ त्यसले नै काम गरिहरेको छ। त्यसलाई सहयोग पु¥याउन र संक्रमणकालीन न्याय सम्बन्धी सबै काम टुंग्याउने सन्दर्भमा बैठक बोलाइएको हो।’
गत माघ २६ मा आयोगका तत्कालीन आयुक्त र प्रमुख आयुक्तको म्याद सकिएपछि द्वन्द्वकालीन दुई आयोग रिक्त छन्।
ती आयोगमा पदाधिकारी नियुक्तिका लागि सरकारले १५ चैतमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा ५ सदस्यीय सिफारिस समिति बनाएको थियो।
सिफारिस समिति बनाएको ५ महिनासम्म पनि अहिलेसम्म नाम सिफारिस हुन सकेको छैन। खासगरी मुख्य दल आयोगको नेतृत्वमा आफ्नो मान्छे र्पुयाउनुपर्ने अडानमा रहेपछि समितिले नाम सिफारिस गर्न सकेको छैन।
दुई आयोगका लागि ५७ जनाले आवेदन दिएका छन्।
सत्यनिरूपण तथा मेलमिलाप आयोगमा करिब ६३ हजार उजुरी दर्ता भएका छन् भने बेपत्ता पारिएका व्यक्तिहरूको छानबिनसम्बन्धी आयोगमा ३ हजार १ सय दर्ता भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।