काठमाडौं- परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) का अध्यक्ष अलिमुयिवा बेनार्ड अल्युबीच भेटवार्ता भएको छ।
आइकाओको अध्यक्ष अल्युले सोमबार पराराष्ट्र मन्त्रालयमा गएर मन्त्री ज्ञवालीसँग भेटवार्ता गरेका हुन्। सोमबारबाट काठमाडौंमा सुरु भएको आइकाओको एसिया प्रशान्त क्षेत्रीय हवाई महानिर्देशकहरुको ५६औं सम्मेलनमा भाग लिन उनी नेपाल आएका हुन्।
सम्मेलनमा उड्डयन प्रधिकरणका प्रमुख लगायतको सहभागिता रहेको छ।
५ दिनसम्म चल्ने सम्मेलनमा १२ वटा एजेन्डा प्रस्तुत हुनेछन्। सम्मलेनमा एसिया प्रशान्त क्षेत्रीय नागरिक उड्डयन संठगनका ४३ देशमा २ सय ९१ प्रतिनिधिसहित ४ सयभन्दा बढी विदेशी प्रतिनिधि सहभागी छन्। सम्मेलनमा नेपालको तर्फबाट ३३ जना प्रतिनिधि सहभागि छन्।
सम्मेलनको मुल नारा ‘क्षमताको सीमितता मेट्न गरिने साझा सम्बोधन’ रहेको छ।
सम्मेलनले हवाई क्षेत्रको विकासका लागि दिने सुझाव आइकाओको बैठकमा पेस हुनेछ। पेस भएको सुझाव आइकाओबाट पारित भएको अवस्थामा सबै देशमा लागू हुनेछ। साथै सम्मेलनले एसिया प्रशान्त क्षेत्रको हवाई विकासका लागि पनि परिपत्र गर्न सक्नेछ।
यसअघि पनि नेपालले सन् १९७८ र १९९८ मा यस्तो सम्मेलन आयोजना गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।