काठमाडौं- पछिल्लो सयम नेपाली वायुसेवा कम्पनीबीच जहाज थप्ने होडबाजी चलेको छ। नेपालमा अहिले अन्तर्राष्ट्रिय र आन्तरिक उडान गर्ने वायुसेवा कम्पनीहरू नै १० पुगिसेको छ। १० वटा वायुसेवा कम्पनीको वायुयानको संख्या मात्रै पाँच दर्जन नाघिसकेको छ।
हवाई यात्रुको संख्या बढेसँगै वायुसेवा कम्पनीहरूले धमाधम आधुनिक सुविधासम्पन्न ठूला जहाज भित्र्याइरहेका छन्। अझै केही जहाज थपिने क्रममा छन्। यसले आन्तरिक उडान प्रतिस्पर्धी बनेको विमान सञ्चालक बताउँछन्। कतै आन्तरिक उडानमा ‘फेयर वार’ चल्ने त होइन भन्ने शंका पनि उब्जाएको छ। अहिले राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्ससँग मात्रै साना तथा ठुला गरी १३ वटा जहाज छन्। नेपाल एयरलाइन्ससँग आन्तरिक उडान तर्फ ४ वटा, चिनियाँ वाई–१२, २ वटा चिनियाँ एमए–६० र ३ वटै ट्विनअटर जहाज छन्। यसका साथै अन्तर्राष्ट्रिय उडानका लागि नेपाल एयरलाइन्ससँग दुई वटा एयरबस-३२० र २ वटा वाइडबडी ए-३३० जहाज छन्।
यसैगरी अन्तर्राष्ट्रिय उडान गर्दै आएको हिमालय एयरलाइन्सको जहाज संख्या पनि ३ वटा पुगिसकेको छ। कात्तिकबाट चीनको बेइजिङमा बन्दै गरेको नयाँ विमानस्थलमा उडान गर्न लागको हिमालयले तत्कालको लागि ए-३३० जहाज भाडामा ल्याउने तयारीसँग नयाँ जहाज खरिद गर्ने योजना पनि अगाडि सारेको छ।
यसैगरी, आन्तरिक उडानमा सबैभन्दा बढी बजार हिस्सा ओगट्न सफल बुद्ध एयरको जहाज संख्या १२ पुगेको छ। बुद्धले यही भदौ ७ अर्थात् अगष्ट २४ मा थप एक एटिआर–७२ जहाज र सेप्टेम्बर पहिलो साता अर्को एटिआर–७२ जहाज थप्दै छ। दुई वटा एटिआर जहाज थप गरेपछि बुद्धसँग मात्र १४ जहाज हुनेछन्। बुद्धले अहिले आन्तरिक तर्फ सुगमका विमानस्थलहरू विराटनगर, भद्रपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, पोखरा, चितवन, जनकपुर, सिमरा र तुम्लिङटारमा उडान गर्दै आएको छ। साथै बुद्धले अन्तर्राष्ट्रिय तर्फ भारतको बनारस र कोलकत्तामा उडान गर्दै आएको छ।
हालका दिनसम्म बुद्धसँग ७२ सिट क्षमताको एटिआर–७२ विमान ७ वटा, ४२ सिट क्षमताका एटिआर–४२ तीन वटा र १८ सिट क्षमताका बिजक्राफ्ट दुई वटा समेत गरी १२ वटा विमान छन्। बुद्ध एयरले पछिल्लो समय वार्षिक २ वटा विमान थप्दै आएको छ। जसका कारण आन्तरिक उडान थप प्रतिस्पर्धी बनेको हो।
आन्तरिक उडानमा दोस्रो बजार हिस्सा ओगट्न सफल कम्पनी यती र उसको भगिनी संस्था तारा एयरसँग १६ वटा जहाज भएको छ। यतीले पनि पुरानो जे-४१ (जेट स्टिम) जहाजका ठाउँमा एटिआर जहाज नै थप्न थालेको छ।
यतिसँग मात्रै अहिले १० वटा विमान छन् भने तारासँग ६ वटा जहाज छन्। यतीसँग अहिले एटिआर ७२–५०० विमान ५ वटा र जे-४१ (जेट स्टिम) विमान संख्या पनि ५ वटा नै छ।
तारासँग २ वटा १९ सिटे डोनियर र ४ वटा ट्विन–अटर (१९ सिट क्षमता) विमान छन्। ताराले विशेषगरी दुर्गम क्षेत्रमा उडान गर्दै आएको छ। तारा समेतका जहाज जोड्दा जहाज संख्याका आधारमा यती एयर आन्तरिक उडानतर्फ सबैभन्दा ठूलो कम्पनी भएको छ। जसमा ६ सय १४ सिट क्षमता छ।
यतीले नेपालगञ्ज, भैरहवा, विराटनगर, भद्रपुर, पोखरा, चितवन, तुम्लिङटार र जनकपुरमा उडान गर्दै आएको छ। ताराले रामेछाप, जोमसोम, लुक्ला, फाप्लु, ताल्चा (मुगु), डोल्पा, बाजुरा, सिमकोट (हुम्ला) र जुम्लामा हवाई सेवा प्रदान गर्दै आएको छ।
यतीले धनगढीमा समेत सेवा विस्तारको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। दुई साता अघि मात्रै यतीले पोखरा विमानस्थललाई आधार बनाएर चितवन र भैरहवामा समेत उडान गर्ने तालिका सार्वजनिक गरिसकेको छ।
यसैगरी, १७ वर्षे हेलिकोप्टर सेवाबाट आन्तरिक उडानमा प्रवेश गरेको श्री एयरले पनि जहाज संख्या ५ पुराएको छ। श्रीले एउटा डास क्यु-४०० जहाज आइतबार मात्रै नेपाल भित्र्याउँदै जहाज संख्या ५ वटा पुर्याएको हो। साथै श्रीले थप अर्को डास क्यु-४०० जहाज फेरि केही दिन भित्रै नेपाल भित्र्याउँदै छ। योसँग श्रीसँग सिआरजे ४ वटा जहाज गरी ६ वटा हुनेछ।
आन्तरिक उडान सेवामा प्रवेश गरेको २ वर्षमै श्रीले बजार हिस्सा १५ प्रतिशतको हाराहारीमा पुर्याउन सफल भएको छ। अहिले थपेको डास क्यु-४०० विमान पोखरा उडानलाई थप प्रतिस्पर्धात्मक बनाउने श्रीले जानकारी दिएको छ।
श्रीले धनगढी उडान थालेसँगै काठमाडौंदेखि त्यहाँसम्मको भाडा १०–१२ हजारबाट घटेर ६ हजार रुपैयाँसम्म आएको थियो। श्रीले पोखरा उडान थालेपछि पोखरा उडानमा रहेको सिम्रिक एयरलाइन्स थप मारमा पर्नेछ।
श्रीको प्रतिस्पर्धा बुद्धसँग पोखरा, सिमरा र चितवन विमानस्थलका हकमा लागू हुने देखिन्छ। श्रीले थपेका विमानले पोखरा, चितवन र सिमरामा उडान गर्ने तयारी गरेको छ। अहिले सिमरा उडानमा बुद्धको एकछत्र राज जस्तै छ। श्रीले पोखरा उडान थालेसँगै त्यहाँसम्म पुग्ने भाडामा पनि पर्यटकीय सिजन र चाडपर्वको बेला बाहेक अन्य समयमा २ हजार रुपैयाँको दरमा झर्न सक्ने अनुमान वायुसेवा कम्पनीहरुको छ।
यसैगरी आन्तरिक उडानका रहेको अर्को सौर्य एयरलाइन्ससँग पनि दुई वटा बम्बार्डियर जेट इन्जिन जहाज छन्। सिम्रिक एयरले पनि दुई वटा जहाजमार्फत् आन्तरिक उडानमा सेवा दिँदै आएको छ।
यसैगरी, दुर्गम विमानस्थलमा सेवा प्रदान गर्दै आएको सिता एयरसँग ४ वटा डोनियर रहेको छन् भने समिट एयरसँग ३ वटा जहाज रहेका छन्।

के भन्छन् वायुसेवा कम्पनी?
आन्तरिक उडानमा विमान थप्ने होडबाजी चलेको सिम्रिक एयरलाइन्सका बजार व्ययवस्थापक प्रज्वल थापा बताउँछन्। वायुसेवा कम्पानीहरु बीच सुरु भएको प्रतिस्पर्धाको लाभग्राही हवाई यात्रु नै हुन्। तर, पछिल्लो समय विमान थप्ने होडबाजीसँगै सुरु भएको ’प्राइस वार’ले साना वायुसेवा कम्पनीमा संकट उत्पन हुने अवस्था आएको थापा स्वीकार्छन्।
साना विमानबाट उडान भरिरहेका कम्पनीले ठूला (धेरै सिट) विमान भित्र्याइरहेका छन्। यसले सिट संख्या अझै बढाएको छ। ‘केही वर्ष अघिसम्म सिजनमा १५ दिन अगाडि नै टिकट बुकिङ हुन्थ्यो, पछि टिकट पाइदैनथ्यो,’ थापाले भने, ‘अहिले त्यस्तो अवस्थाको अन्त्य भएको छ, प्रतिस्पर्धा बढेपछि सिजनमा पनि टिकट पाइन थालेको छ।’ सुगमको उडानमा प्रतिस्पर्धा बढे पनि दुर्गम उडानमा खासै प्रतिस्पर्धा नरहेको यती एयरलाइन्सका मिडिया प्रबन्धक भीमराज राईको बुझाइ छ। सुगम गन्तव्यमा पनि सिजनमा राम्रै यात्रु पाइरहेको राईले दाबी गरे। तर, अफ सिजनमा विमान कम्पनीले सस्तो भाडामा यात्रु बोकेर अस्वस्थ प्रतिस्पर्धामा उत्रिने क्रम भने बढ्दै गएको उनको भनाइ छ।
राईले आन्तरिक उडानमा विमान थपिनु राम्रो पक्ष भए पनि बजारमा अस्वस्थ प्रतिस्पर्धा पनि बढ्ने सम्भावना उत्तिकै रहेको जनाए। बुद्ध एयरलाइन्सका बजार प्रमुख रुपेश श्रेष्ठ पनि वायुसेवा कम्पनीहरु बीच पछिल्लो समय विमान थप्ने होडबाजी सुरु भएको स्वीकार्छन्। तर, विमान थपेर मात्रै नहुने उनको तर्क छ। सबैभन्दा पहिले त विमान कम्पनीले भएको विमान पुल–फेजमा सञ्चालन गर्न सक्नुपर्नेमा श्रेष्ठ जोड दिन्छन्।
‘हवाई सेवा प्रदायक कम्पनीहरु बीच प्रतिस्पर्धा हुनु भनेको यात्रुलाई नै फाइदा हुने हो,’ उनले भने, ’विमान संख्या थपिँदा यात्रुले सहज यात्रा गर्न पाउँछन्।’ बजार थप प्रतिस्पर्धी बनाउँदै आएको श्री एयरका अनिल मानन्धरले पनि बजारमा रोचक प्रतिस्पर्धा सुरु भएकोमा एकमत छन्। बिस्तारै यो क्षेत्रमा पनि एकछत्र राज हट्ने उनको भनाइ छ। तर, अहिलेको प्रतिस्पर्धाले साना एयरलाइन्सलाई केही समस्यासमेत उत्पन हुनसक्ने उनले आँकलन गरे।
ठूला विमान कम्पनीबीच विमान थप्ने प्रतिस्पर्धाले बजारमा अस्वस्थ प्रतिस्पर्धा बढ्नसक्नेतर्फ समिट एयरका प्रबन्ध निर्देशक मनोज कार्कीसमेत स्वीकार गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।