काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालको वरीयता वृद्धि भएको छ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय कमिटीको बैठकले नेता खनालको दोस्रो वरीयता निर्धारण गरेको हो। पार्टीमा अब अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डपछिको दोस्रो वरीयतमा पर्ने गरी झलनाथ खनालको वरीयता निर्णय भएको बैठकबाट बाहिरिएका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।
पूर्व प्रधानमन्त्त्री समेत रहेका खनाल यसअघिको नेकपा एमालेमा सदस्य थिए। पार्टी एकीकरणपछि नै उनले वरियतका विषयमा असन्तुष्टि राख्दै आएका थिए।
सोही बैठकले पार्टीको जनवर्गीय संगठनको इन्चार्ज र सह इन्चार्ज पनि तोकेको छ। प्रदेश सम्पर्क कमिटीमा नेतृत्व चयन समेत गरिएको प्रवक्ता श्रेष्ठले बताएका छन्।
बैठकले उपत्यका विशेष कमिटीको इन्चार्जमा लिलामणि पोखरेल, युवा तथा विद्यार्थी विशेष कमिटीको इन्चार्जमा माधव ढुंगेल, मजदुर विशेष जिल्ला कमिटीको इन्चार्जमा विना श्रेष्ठ, पेशागत महासंघको इन्चार्जमा केशव नेपाल, उद्योगी व्यवसायी विशेष कमिटीको इन्चाजर्मा पार्वत गुरुङ, केन्द्रीय सम्पर्क समन्वय कमिटीको इन्चार्जमा छविलाल विश्वकर्मालाई तोकिएको श्रेष्ठले जानकारी दिए।
किसान संघको अध्यक्षमा वामदेव गौतमलाई हटाएर हरि पराजुली ल्याइएको छ।
बैठकले इन्चार्ज सँगै विशेष कमिटी, जनवर्गीय संगठन र प्रदेश सम्पर्क कमिटीका सहइन्चार्ज तथा अध्यक्ष र सचिवहरू पनि तोकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।