काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले झलनाथ खनाललाई माधव नेपालभन्दा अघिल्लो वरियतामा राख्न प्रस्ताव गरेका छन्।
बैठक स्रोतबाट प्राप्त जानकारी अनुसार ओलीको प्रस्तावमा माधव नेपालले आपत्ति जनाएका छन्।
खनालले तत्कालीन एमालेको नवौं महाधिवेशनपछि आफू ओलीपछिको वरिष्ठ नेता भएको दाबी गर्दै आएका छन्। नेता नेपालले भने नवौं महाधिवेशन अनुसार अघि बढ्ने भए सो महाधिवेशनबाट निर्वाचित पाँचमध्ये तीन उपाध्यक्षलाई पनि सचिवालयमा ल्याउनुपर्ने बताएका छन्।
'पाँच उपाध्यक्षमध्ये विद्यादेवी भण्डारी राष्ट्रपति भइन्। वामदेव गौतम उपाध्यक्ष भए', स्रोतले नेता नेपाललाई उदृत गर्दै भन्यो, 'बाँकी उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावललाई पनि उपाध्यक्ष बनाउनुपर्छ।'
गौतमलाई अघिल्लो सचिवालय बैठकले उपाध्यक्ष बनाउने निर्णय गरेको थियो।
नेता नेपालले यी तीन नेतालाई ईश्वर पोखरेलको भन्दा माथिल्लो बरियता दिनुपर्छ। नवौं महाधिवेशनमा पोखरेल महासचिव निर्वाचित भएका थिए।
तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशन २०७१ असार १९ देखि साउन १ सम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।