काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले बरियता सच्याउने बिन्दु आएको बताएका छन्। उनले त्यसको विकल्प नरहेको पनि बताए।
आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै खनालले पार्टी एकीकरण भएकै बेलामादेखि आफूले वरियता बेठीक भयो भनेर कुरा राखेको बताए।
'पद्धतिसम्मत भएन र पद्धतिसम्मत ढंगले पार्टी अगाडि बढ्नुपर्छ, माथि टुप्पीमा नै हामीले पद्धति राम्रोसँगले अंगिकार गर्न सकेनौं भने तल पनि राम्रो हुँदैन त्यसैले पद्धितसम्मत गर्नुपर्छ, सिनियारिटीलाई तलमाथि पार्नुहुँदैन, वरियतालाई ठीक ढंगले निर्धारण रेर जानुपर्छ भनेर मैले सुरुमै यसबारेमा असन्तुष्टि राखेको हो। भिन्न मत राखेको हो। त्यो कुरा निरन्तर जारी थियो', उनले भने।
खनालले वरियता सच्याउने बिन्दु आइपुगेकाले सबै कमरेडहरुले सो विषयलाई हार्दिकतापूर्वक लिनुपर्ने बताए। 'त्यसको अरु कुनै विकल्प छैन', उनले भने।
आजको सचिवालय बैठकले सच्याउने आशा गरेको उनले बताए।
पार्टी एकताका बेला उनी चौथो वरियतामा परेका थिए। त्यसयता उनले निरन्तर असन्तुष्टि राख्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।