काठमाडौं- वाम गठबन्धनको कार्यदलले प्रादेशिक सरकार गठनमा भागबन्डा गरेको छ। कार्यदलको सहमति अनुसार प्रदेश नम्बर १, ३, ४ र ५ को मुख्यमन्त्री एमालेले लिनेछ। यस्तै, माओवादी केन्द्रले प्रदेश नम्बर ६ र ७ मा सरकारको नेतृत्व गर्ने टुंगो लागेको छ।
कार्यदलले प्रादेशिक सरकारको नेतृत्वबारे दुई दलबीच भागबन्डा लगाए पनि मुख्यमन्त्रीको विषयमा कुनै छलफल नगरेको एमाले नेता सुवासचन्द्र नेम्वाङले बताएका छन्। तर, दलका शीर्ष नेताले पार्टीबाट सिफारिस गर्ने मुख्यमन्त्रीको विषयमा अनौपचारिक सहमति गरिसकेका छन्।
प्रदेश ५ को मुख्यमन्त्रीमा एमाले सचिव शंकर पोखरेलको नाममा वाम गठबन्धनभित्र सहमति कायम भइसकेको छ। प्रतिनिधिसभा निर्वाचनमा माओवादी नेता कृण्णबहादुर महरालाई निर्वाचन क्षेत्र छाडेका पोखरेल मुख्यमन्त्री बनाउने आश्वासनमा प्रदेशसभामा झरेका थिए। प्रदेश २ बाट एमालेको संसदीय दलको नेता समेत रहेका पोखरेल ५ नम्बरको मुख्यमन्त्री बन्ने पक्का छ।
प्रदेश ३ को मुख्यमन्त्रीबारे एमालेभित्र ठूलो रस्साकस्सी छ। केशव स्थापित, राजेन्द्र पाण्डेदेखि पशुपति चौलागाईंसम्मका नेताले प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका छन्। तर, पार्टीभित्र महिलातर्फकी शीर्ष नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीकी बलियो दाबेदार हुन्। मुख्यमन्त्रीका लागि प्रभावशाली नेताहरुले लविङ तीव्र पारेपछि एमालेका शीर्ष नेता समेत एकमात्र महिला मुख्यमन्त्रीको रुपमा शाक्यलाई अगाडि सार्न सकारात्मक देखिएका छन्।
प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा शेरधन राई र भीम आचार्यले दाबी गरेका छन्। प्रदेश नम्बर १ का इञ्चार्ज समेत रहेका आचार्यले आफू मुख्यमन्त्रीको दौडमा रहेको दाबी गर्दै राजनीतिक लबिङ तीव्र पारेका छन्। तर, एमालेको शीर्ष नेतृत्व पूर्वमन्त्री शेरधन राईलाई मुख्यमन्त्रीका रुपमा अघि सार्न चाहन्छन्। माधव नेपाल प्यानलका आचार्यलाई मुख्यमन्त्री बनाउनुभन्दा राई नै पार्टी अध्यक्ष ओलीका लागि रुचिकर पात्र हुन्। आचार्य स्थानीय तह निर्वाचन र प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा टिकट बेचेको भन्दै आलोचित समेत भएका थिए।




सबैले चासोपूर्वक हेरेको प्रदेश नम्बर ४ को मुख्यमन्त्री को होला? यो प्रदेशमा मुख्यमन्त्रीको दौडमा पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ। दुवै नेताले मुख्यमन्त्रीको दौडलाई पेचिलो बनाउँदै शीर्ष नेताबीच लविङ तीव्र बनाएका छन्। किरण गुरुङले मुख्यमन्त्रीको आश्वासनले प्रदेशसभाको उम्मेदवार बनेकाले आफूले नै प्रदेशको नेतृत्व गर्ने बताउँदै आएका छन्। तर, वरियता र वरिष्ठताका आधारमा पृथ्वीसुब्बा प्रदेश ४ बाट एमालेका मुख्यमन्त्रीमा बलिया दाबेदार हुन्। पार्टी सचिव समेत रहेका पृथ्वीलाई वरियताका आधारमा मुख्यमन्त्री बनाउन पार्टी अध्यक्ष केपी ओली समेत सकारात्मक छन्।
माओवादीले प्राप्त गरेको प्रदेश नम्बर ६ को मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाही सबैभन्दा बलिया देखिएका छन्। माओवादी केन्द्रबाट पूर्व ऊर्जामन्त्री समेत रहेका शाही प्रदेशका सबैभन्दा प्रभावशाली पात्र हुन्। माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल निकट रहेका नेता नरेश भण्डारीले समेत मुख्यमन्त्रीमा दाबी गरेका छन्। तर, पार्टी राजनीतिमा निकै अगाडि बढेका शाहीलाई रोक्न भण्डारीलाई मुस्किल मात्र होइन, असम्भवप्राय: देखिएको छ।
संख्यात्मक हिसाबले एमाले शक्तिशाली देखिएको प्रदेश नम्बर ७ को मुख्यमन्त्री माओवादीको भागमा परेको छ। सो प्रदेशमा माओवादीबाट कुनै हेभीवेट नेता नरहेकाले मुख्यमन्त्रीको जिम्मेवारी वीरमान चौधरीले पाउने देखिएको छ। माओवादी जनयुद्धका बेला ब्रिगेड कमाण्डर रहेका चौधरीलाई मुख्यमन्त्री बनाएर थारु बाहुल्य क्षेत्रमा माओवादी केन्द्र त्यसको औचित्य पुष्टि गर्न चाहन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।