काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पछिल्लो समय जुनसुकै कारणले मृत्यु भएका मानिसलाई शहीद घोषणा गरेर वास्तविक शहीदप्रति अपमान भएको बताएका छन्।
सहिद सप्ताहको दोस्रो दिन शनिबार धर्मभक्त माथेमाप्रति श्रद्धाञ्जलि दिन सिफल उकालोमा आयोजित कार्यक्रममा शाक्यले देश र नागरिक स्वतन्त्रताका लागि सहादत गरेको व्यक्तिलाई सहिद घोषणा गर्नुपर्नेमा जोड दिए।
सहिद सप्ताह मूल समारोह समितिका संयोजक समेत रहेका शाक्यले सहिदको सपना पूरा गर्न अब सामाजिक र विकासका आन्दोलनमा सक्रिय हुनुपर्ने बताए।
यस्तै, महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले शैक्षिक पाठ्यक्रममा राखेर सहिदको वास्तविक योगदान प्रवर्द्धनको योजना अघि बढाउने प्रतिबद्धता जनाइन्।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति केदारभक्त माथेमाले सहिद शब्दको अपव्याख्या भएकाले यसको वास्तविकता जोगाउन विद्यालयस्तरीय अध्ययन-अध्यापनको आवश्यकता रहेको बताए।
राणाशासनको बेला तत्कालीन शासकको विरुद्धमा गतिविधि गरेको आरोपमा धर्मभक्त माथेमालाई १९९७ माघ १३ गते काठमाडौंको सिफलमा रहेको बकाइनोको रुखमा झुन्ड्याइएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।