राजविराज- सप्तरीको डाकनेश्वरी नगरपालिकाका पदाधिकारीहरुले पटक–पटक आग्रह र आन्दोलन गर्दा पनि राज्यको नजरमा ओझेल परेका हरुवा–चरुवाको अधिकार स्थापनाका लागि संस्थागत पहल गर्ने आश्वासन दिएका छन्।
डाक्नेश्वरी–५, पातो बजारमा शनिबार आयोजित अन्तर्क्रियामा सहभागी मेयर शिवनारायण साहले हरुवा-चरुवाको अधिकारका लागि पहल गर्ने र उनीहरुको आर्थिक तथा सामाजिक विकासका लागि नगरपालिकाले योजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाए। मुलुकमा ठूल्ठूला परिवर्तन भए पनि हरुवा-चरुवाहरुको जीवनमा परिवर्तन आउन नसकेको भन्दै उनले त्यसका लागि ठोस योजना र पहलको आवश्यकता औंल्याए।
कार्यक्रममा अधिकांश वडा अध्यक्षले हरुवा-चरुवाको उत्थानका लागि नगरसभामा योजना ल्याउने बताए।
हरुवा–चरुवा उत्थान मञ्चका केन्द्रीय अध्यक्ष दशन मण्डल, हरुवा–चरुवा महिला समूहकी लक्ष्मीनियाँ खंग लगायतले ‘स्थानीय सरकारमा जनताको पहुँच खै?’ भन्दै प्रश्न उठाएपछि नगरपालिकाका पदाधिकारीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन्।
सप्तरीमा १८ हजार ५ सयभन्दा बढी हरूवा–चरूवा रहेको अनुमान छ।
हरूवा–चरूवाहरूले ‘हरूवा–चरूवा आयोग गठन, ऋण मिनाहा, परिचयपत्र, आवास व्यवस्था, जग्गा र रोजगारीको सुनिश्चितताका लागि सरकारसँग माग गर्दै आएका छन्।
अन्तर्राष्ट्रिय श्रमिक सङ्गठन (आईएलओ) को सन् २०११ को प्रतिवेदन अनुसार सप्तरी, सुनसरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा लगायतका जिल्लामा गरी कुल ९७ हजार हरूवा–चरूवा छन्। वर्षौँदेखि आग्रह र आन्दोलन गर्दापनि सरकारले बेवास्ता नगरेको भन्दै गत मंसिर पहिलो साता गाउँ–गाउँबाट राजविराजमा जम्मा भएका हरुवा-चरुवाहरुले हलो–कोदालोसहित प्रदर्शन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।