गोविन्दराज जोशीका पक्षका कार्यकर्तालाई कारबाही गर्न रामचन्द्र पौडेलले बढाए प्रक्रिया

नेपाल लाइभ | २०७६ श्रावण २९ बुधबार | Wednesday, August 14, 2019 २२:३०:०० मा प्रकाशित

काठमाडौं- वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्लाबासी नेता गोविन्दराज जोशीका पक्षका नेता तथा कायकर्तालाई अनुशासनको कारबाही गर्ने प्रक्रिया अघि बढाएका छन्। 

तनहुँ जिल्लामा समानान्तर कार्यसमिति गठन गरेका जोशी पक्षधरका नेता तथा कार्यकर्तालाई अनुशासन समिति मार्फत कारबाही गरेका हुन्।

तनहुँमा बैकुण्ठनाथ न्यौपाने सभापति र जितप्रकाश आले कार्यबाहक सभापति आधिकारिक र वैधानिक पदाधिकारी रहेको केन्द्रीय समितिले स्पष्ट पारेको छ।

साथै, ती दुई नेता मातहतका कार्यसमिति मात्रै तनहुँमा आधिकारिक र वैधानिक कार्यसमितिहरु रहेको स्पष्ट पारिएको छ।

उक्त कार्यसमितिहरु बाहेक नेपाली कांग्रेस पार्टीका नाममा पार्टीका कुनै सदस्यले कुनै तहको कार्यसमिति गठन गर्न नै नसक्ने’ जनाइएको छ। अनाधिकृत र अवैधानिक कार्य पार्टीको कुनै सदस्यले गरेको वा कार्यालय खोलेको भए त्यस्तो कार्य पार्टी अनुशासनको गम्भीर उल्लघंन हुने जनाइएको छ। अन्य कार्यसमिति रहेको  भ्रममा नपर्न कार्यकर्तालाई सुझाइएको छ। 

कार्यकर्तालाई पार्टीको आधिकारिक र वैधानिक निकायमा आवद्ध हुन अनुरोध गरिएको छ।

‘अवैधानिक र पार्टी अनुशासनको गम्भीर उल्लघंनको गतिविधिमा संलग्न पार्टीका सदस्य उपर पार्टीको विधान र नियमावली अनुसार आवश्यक निर्णय गर्नका लागि केन्द्रमा प्राप्त उजुरी सहितको फायल र सबै कागजात केन्द्रीय अनुशासन समितिमा पठाउने’ केन्द्रीय समितिले निर्णय गरेको छ।

तनहुँमा वरिष्ठ नेता पौडल र जोशीको समानान्तर कार्यसमिति क्रियाशिल रहेका छन्। 

बुधबारको केन्द्रिय समितिको बैठकले उक्त निर्णय गरेको हो। अर्को बैठक भदौ ११ मा बस्ने भएको छ।