सुर्खेत– प्रदेशसभाका सदस्यले सपथ ग्रहण गरेको एक सता पुग्न लागिसक्दा पनि प्रदेश ६ को पहिलो संसद बैठकको मिति टुंगो लाग्न सकेको छैन। संविधानमा भएको प्रावधान अनुसार प्रदेशसभाको अन्तिम परिणाम घोषणाको मितिले २० दिनभित्र पहिलो संसद बैठक बसिसक्नुपर्नेहुन्छ। तर, प्रदेश ६ मा भने अझै बैठक मितिको टुंगो लागेको छैन।
प्रदेश संसद सचिवालय स्थापना नहुँदा मिति घोषणा नगरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। प्रदेश प्रमुख दुर्गाकेशर खनालले संसद बैठकको मिति तोक्ने विषयमा छलफल भए पनि संसद सचिवालयमा कर्मचारी नभएको अवस्थामा सूचना टाँस नगरिएको जनाए। यद्यपि माघ २१ मा बैठक राख्ने गरी तयारी अघि बढाइएको उनले जानकारी दिए।
संसद सचिवालयका लागि कर्मचारी खटाइएको भए पनि सुर्खेतमा आइपुगेका छैनन्। जसले गर्दा संसद् बैठकको मिति तय गर्न समस्या भएको प्रमुख खनालले जनाए। उनले संसद सचिवालयका कर्मचारीलाई पर्खिरहेको भन्दै कर्मचारी आइपुगेलगत्तै मिति तय हुने जानकारी दिए।
‘सूचना टाँस गर्नेदेखि संसद बैठकका लागि आवश्यक तयारी गर्ने काम संसद सचिवालयको हो, सचिवालय नै बनिसकेको छैन। त्यसैले मिति नतोकिएको हो,’ खनालले भने। संसद् सचिवालयका लागि मात्र होइन प्रदेश प्रमुखको कार्यालयमा पनि कर्मचारी व्यवस्थापन नुहँदा कार्य सञ्चालनमा अलमल र ढिलासुस्ती भइरहेको छ।
प्रदेश संसदको पहिलो बैठक जिल्ला समन्वय समितिको सभाहलमा बस्ने तयारी गरिएको छ। प्रदेश ६ मा ४० जना सांसद छन्। संसद् बैठकको टुंगो नलाग्दा अधिकांश सांसद काठमाडौं गइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।