काठमाडौं- यातायात व्यवस्था विभागले लामो दुरीमा गुड्ने सार्वजनिक बसका लागि नयाँ नियम लागू गरेको छ। २०४९ मा बनेको सवारी तथा यातायात व्यवस्था ऐन बल्ल विभागले कार्यान्वयन गर्दैछ।
विभागका अनुसार अब ४ घन्टा गुडेका यात्रुबाहक सार्वजनिक बस आधा घन्टा रोक्नुपर्नेछ।
चालकका कारण सवारी दुर्घटना बढेको तथ्यांक आइरहेको अवस्थामा विभागले ऐनमा भएको प्रावधान कार्यान्वयनमा ल्याएको जनाएको छ। विभागले मंगलबार एक सूचना जारी गर्दै ४ घन्टाभन्दा बढीको दुरीमा चल्ने यात्रुबाहक सार्वजनिक सवारीले प्रत्येक ४ घन्टामा एक पटक आधा घन्टा विश्राम गर्नुपर्ने व्यवस्था लागू गरेको हो।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०३ मा ‘४ घन्टाभन्दा बढीको दुरीमा चल्ने यात्रुबाहक सार्वजनिक सवारीले प्रत्येक ४ घन्टामा एक पटक आधा घन्टा विश्राम गर्नुपर्छ’ भनी लेखिएको छ।
त्यस्तै दफा १०४ मा ‘लामो बाटो (प्रस्थान स्थानबाट २ सय २० किलोमिटर वा सोभन्दा बढी दुरीको गन्तव्य स्थान) मा यातायात सेवा सञ्चालन गर्ने यात्रुबाहक सार्वजनिक सवारीमा कम्पनीमा २ जना चालक अनिवार्य रुपमा राखी प्रत्येक ६ घन्टापछि पालैपालोसँग सवारी चलाउन लगाउने कर्तव्य यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक वा सवारी धनीको हुनेछ’ भनी उल्लेख गरिएको छ।
कानुन कार्यान्वयन नभएको जानकारी आएको भन्दै विभागले यस्तो सूचना प्रकाशित गर्नुपरेको जनाएको छ। यसरी सूचना प्रकाशित गर्दा पनि नियम पालना नगरेको पाइएमा कानुन अनुसार कारबाही गर्ने विभागको भनाइ छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।