रसुवा– चीनसँगको व्यापारिक नाका तातोपानी बन्द भएपछि एकमात्र व्यापारिक नाका रसुवागढी अहिले चासोको केन्द्रमा छ। तर, चीनको प्रमुख व्यापारिक नाका रसुवागढी जोड्ने सडकमार्गको अवस्था भने चर्चायोग्य छैन। खराब अवस्थामा रहेको सडकको सुधार र विस्तार गर्न पछिल्लो समय नेपाली सेना जुटिरहेको छ।

हिउँदको चिसो मौसमको परवाह नगरी बिहान ७ बजे नै मैलुङ–स्याफ्रुबेसी सडकमा आइपुग्ने सेनाका प्राविधिक तथा जवानहरु साँझ साढे ५ बजेसम्म काममा खट्ने गर्छन्। चीन जोड्ने सडक निर्माणको जिम्मा पाएपछि सेनाको मैलुङ–स्याफ्रुबेसी निर्माण कार्यदलले अग्ला र जोखिमयुक्त पहराका चट्टान फोर्दै सडक विस्तार गरिरहेको छ। सिम्लेदेखि मैलुङसम्म ६ किलोमिटर र मैलुङदेखि स्याफ्रुबेसीसम्म १७ किलोमिटर दुई लेनको सडक निर्माणका लागि नेपाली सेनाले जिम्मेवारी पाएको थियो।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी सडक निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ। ०७२ बैशाखदेखि निर्माण सुरु भएको सडकको ट्रयाक खोल्ने काम सकिएको र सडकको अवस्था हेरी ९ देखि ११ मिटर चौडा बनाइएको सडक निर्माण कार्यदलका प्रमुख एवं प्राविधिक सेनानी सञ्जय केसीले बताए।

सडक निर्माणका लागि पाँच सय ४० जनशक्ति परिचालन गरिएको छ। जसमा एक सय ९० जना नेपाली सेना र तीन सय ५० जना अन्य कामदार रहेको जनाइएको छ। सडकखण्डको मैलुङ, गुम्चेत, सोले, त्रिशुली दोभान र स्याफ्रुमा क्याम्प राखेर ८ स्थानबाट निर्माण कार्य भइरहेको छ।

गल्छी हुँदै रसुवागढी नाका जोड्ने यो सडक काठमाडौंलाई चीनसँग जोड्ने सबैभन्दा छोटो मार्गको रुपमा लिइएको छ। यो सडक सञ्चालनपछि बेत्रावतीबाट स्याफ्रुबेसीसम्म २३ किलोमिटर दूरी छोटिने र सुरक्षित समेत हुने प्राविधिक अध्ययनले देखाएको छ। अहिले सञ्चालनमा रहेको बेत्रावती, कालिकास्थान, धुन्चे हुँदै स्याफ्रुबेसीसम्म पुग्ने सडक ५४ किलोमिटर लामो छ।

आगामी बैशाखको पहिलो सातासम्ममा निर्माण पूरा गरेर सडक विभागलाई हस्तान्तरण गरिने नेपाली सेनाले जनाएको छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।