काठमाडौं– कीर्ते मुद्दामा फरार रहेका एमाले सांसद तथा पूर्वडिआईजी नवराज सिलवालले प्रधानमन्त्री तथा प्रहरी महानिरीक्षकविरुद्ध गम्भीर आरोप लगाउदै प्रेस बिज्ञप्ती जारी गरेपछि धेरै आश्चर्य व्यक्त गरेका छन्। प्रधानमन्त्री शेर बहादुर देउवा र प्रहरी महानिरीक्षक प्रकाश अर्यालका कारण आफु असुरक्षित रहेको उनको दाबी छ।
अनुसन्धानमा असहयोग गरी फरार रहेका उनको बिज्ञप्तीमा पुरै राज्य नै आफुविरुद्ध लागेको आरोप लगाएका छन्। २९ वर्ष प्रहरी संगठनका महत्वपूर्ण पदमा बसेर काम गरेका सिलवालले राज्यप्रति अविश्वास व्यक्त गरेर बिज्ञप्ती जारी गरेपछि धेरैले आश्चर्य व्यक्त गरेका हुन्। ‘यती लामो समय प्रहरीको नेतृत्व तहमा बसेको व्यक्तिले राज्यप्रति नै अबिश्वास गर्नु अनौठो हो,’ एक उच्च प्रहरी अधिकारी भन्छन्,‘व्यक्तिमाथि अबिश्वास होला तर उनले राज्यप्रति नै अबिश्वास व्यक्त गर्नु गलत हो।’
प्रधानमन्त्री शेर बहादुर देउवाले कांग्रेसले चुनाव हारेको प्रतिशोधस्वरुप आफुविरुद्ध अनुसन्धान गरेर फसाउन दाबी गरेका छन्।
प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धि मुद्दामा सिलवालले अदालतमा पेश गरेको कार्यसम्पादन मूल्याङकनसम्बन्धि कागजपत्र कीर्ते भएको सर्वाेच्च अदालतले फैसला गरिसकेको छ। सोही फैसलाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध अनुसन्धान अघि बढाएको हो। उनलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले देशभरीका प्रहरीलाई सर्कुलर गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।