काठमाडौं- गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) को सम्पत्ति शुद्धीकरण मुद्दाको अन्तिम सुनुवाइ विशेष अदालत काठमाडौंमा सुरु भएको छ।
न्यायाधीशत्रय रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल र प्रमोदकुरमार श्रेष्ठ वैद्यको इजलाशमा सोमबारबाट मुद्दा फैसलाको बहस सुरु भएको हो। पहिलो दिन गुरुङका कानुन व्यवसायीले सफाइ पाउनुपर्ने तर्क गर्दै बहस गरेका थिए।
बुधबार सरकारी वकिलले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको तर्फवाट बहस गर्दै छन्। दुवै पक्षको बहसपछि विशेषले गुरुङको मुद्दामा फैसला सुनाउनेछ।
अर्थ मन्त्रालय मातहत रहेको सम्पत्ति शुद्धीकरण विभागले गुरुङसहित ५ जना गुन्डा नाइकेको सम्पत्तिबारे अनुसन्धान गर्दै २०७० जेठ ५ मा विशेष अदालतमा मुद्दा दायर गरेका थियो। गुन्डा नाइकेहरुको अवैध सम्पत्तिबारे अनुसन्धान गर्न र मुद्दा अदालतसम्म पुर्याउन ४ वर्ष लागेको थियो। गुरुङसहित दीपक मनाङे (राजिव गुरुङ), गणेश लामा, अभिषेक गिरी र पर्शुराम बस्नेतविरुद्ध एकै दिन अभियोगपत्र दायर भएको थियो। त्यसमध्ये मनाङले यसअघि नै सफाइ पाइसकेका छन्। अन्य ४ जनाको मुद्दा भने विशेषमा अन्तिम सुनुवाइको क्रममा छ।
विभागसँगको समन्वयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सबैको सम्पत्ति विवरणको अनुसन्धान गरेको थियो।
चक्रे मिलनको नाममा काठमाडौंमा ७ आना जग्गा र उनको परिवारका नाममा काठमाडौं र गोरखामा करिब ३० रोपनी जग्गा गरी ७ करोड रुपैयाँ अवैध सम्पत्ति रहेको दाबी गर्दै सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको थियो। गुरुङले अवैध गतिविधि सञ्चालन गर्दै उक्त सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेकाले जफत हुनुपर्ने मुद्दामा दाबी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।