काठमाडौं– माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज ७ वटै प्रदेशमा उम्मेदवारी दर्ता हुँदैछ।
उच्च अदालत रहेका स्थानमा तोकिएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको हुनेछ। जसमा प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को पाटन, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र प्रदेश नम्बर ७ को दिपायलमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेका छन्।
उम्मेदवारी दर्ताको समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म रहेको निर्वाचन आयोग प्रवक्ता नवराज ढकालले जानकारी दिए।
राष्ट्रियसभा निर्वाचनमा कुल मतदाता २ हजार ५६ जना रहेका छन्। जसमा प्रदेशसभा सदस्य ५ सय ५० र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष १ हजार ५ सय ६ रहनेछन्।
५९ सदस्यीय राष्ट्रियसभाका लागि हरेक प्रदेशबाट ८ जनाका दरले ५६ जना निर्वाचनबाट चुनिएर आउनेछन्। राष्ट्रपतिले ३ जना मनोनयन गर्ने संवैधानिक व्यवस्था छ। जसमा एक जना महिला अनिवार्य हुनेछन्।
आयोगले उम्मेदवारी दर्ताका लागि १० हजार रुपैयाँ धरौटी तोकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।