दिनदहाडै मसानहरु
नाङ्गै नाच्ने मेरो देशमा
बिचरी आमाको थोत्रो मजेत्रोले छोपेर छोपिन्न
ती लज्जित दृश्यहरु
न रोक छ, न कसैको अवरोध छ
निर्लज्ज ती गतिछाडाहरु हल्लिइरहन्छन्
बेसुर/बेतालका धुनहरुमा
आ-आफ्नै सुरमा।
सबै स्तब्ध बनेर रमिता हेर्नु सिवाय
केही छैन उपाय
उनीहरु नाचिरहन्छन्
बस् नाचिरहन्छन्
अनि हामीहरु मूकदर्शक बनेर
असहमतिका तालीहरु ठोक्न विवश बन्छौं।
मान्छेको स्वरूप अँगालेर
दानव चरित्र दर्शाउँछन् तिनीहरु,
रत्तिभर छैन अप्ठ्यारो
अनि छैन कदाचित् आत्मग्लानिका सुस्केराहरु
हो, मेरो देश अचेल
नाङ्गो नाचको अखडा बनेको छ
आँखामा लाजका परेलीहरुले छोप्दै
बनेका छौं सबै मौन रमिते
यी मसानहरुको बेसरम क्रियाकलापको।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।