सायद म पवन हुनुपर्थ्यो
कि मन्द गतिमा वसन्त बोकी तिम्रा नरम गाला छोइदिन्थेँ
तर म त्यो कालो बादल बनेँ र तिमी रंग बनिदियौ
सधैंसधैं म भित्रका विसंगति आफैँ लुट्पुटिँदै एकत्र भइदिए
र बसिदिए त्यहि रंगहीन थोपाहरूमा
जसले तिम्रो रंग पनि मेटाइरहे।
म झरिरहेँ... केवल झरिरहेँ...
सायद म पारिजात हुनुपर्थ्यो
कि तिम्रो कोमल हातबाट
आस्थाको देवताको पाउमा चढिन्थेँ
तर म त्यो हाँगाबाट छुटिएको पात बनेँ र तिमी घाम बनिदियौ
सधैंसधैं म अनियन्त्रितझैँ दिशाहीन भौँतारिएँ
र लुक्न खोज्थेँ निस्पष्ट छायाहरूमा
तिम्रो तापदेखि म सन्त्रास डराइरहेँ।
म ओइलाइरहेँ...केवल ओइलाइरहेँ....
सायद म धुन हुनुपर्थ्यो
कि सपनामा डुली तिमीलाई सुहाउने संगीत बनिदिन्थेँ
तर म त्यस्तो अनकण्टार रात बनेँ र तिमी चरा बनिदियौ
सधैंसधैं मैले शून्यताको विलापमा तिम्रो अभाव थपिदिएँ
र घोरिन्थेँ तिमी उठ्ने प्रतीक्षामा
तर रातको आकाश खालि नै रहिरहे।
म सुस्ताइरहेँ... केवल सुस्ताइरहेँ...
कति अर्थहीन छन् यी कुराहरू पनि
कति वियोगान्त अन्तर्कथा,
तिमी ओठको मधुरता थियौ
म आँखाको निष्क्रियता,
तिमी आश्रय थियौ म यात्रा
तिमी मैनबत्ती बनिदियौ म शिखा बनी झरेँ ।
म जलिरहेँ... केवल जलिरहेँ...
०००
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।