भैरहवा- रुपन्देही देवदहका व्यवसायी 'बलु' भनिने वसन्त पौडेल हत्याको योजनामा सम्लग्न रही फरार रहेका एक अभियुक्त पक्राउ परेका छन्।
प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके मनोज पुनका साथीसमेत रहेका बुटवल उपमहानगरपालिका-१७, मोतिपुरका ५१ वर्षीय ओमप्रकाश चौधरी उर्फ 'चौधरी डंगोरिया थारु'लाई पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिए।
गत ०७४ पुसमा २ जना मोटरसाइकलमा आएर 'काठको अडर छ' भन्दै आगो तापिरहेको अवस्थामा बलुको गोली हानी हत्या गरिएको थियो। घटनाको जिम्मा गुण्डा नाइके मनोज पुनले लिएका थिए। पक्राउ परेका थारु हत्याको योजनामा संग्लन रहेको, सुटरलाई हतियार, मोटरसाइकल व्यवस्थापनलगायत कार्यमा सम्लग्न रहेको पाइएको रुपन्देहीका डिएसपी धर्मराज भण्डारीले बताए।
पक्राउ परेका थारुले गरेको अपराधको सूची लामो छ। थारु समेतले २०६५ सालमा सरदमान श्रेष्ठलाई अपहरण गरी फिरौती रकम माग गरेको हुदाँ उनीविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो।
०६५ सालमा मानव बेचबिखन तथा ओसारपसार, हातहतियार तथा खरखजाना मुद्दामा पनि उनीमाथि मुद्दा दायर भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।