काठमाडौं- सुनिता खनालको पहिलो कवितासंग्रह 'ओ नायक' सार्वजनिक भएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा शनिबार आयोजित कार्यक्रममा कविहरु श्यामल, श्रवण मुकारुङ, मोमिला र कवि खनालकी आमाले संयुक्त रुपमा संग्रहको विमोचन गरे।
कार्यक्रमको पहिलो सत्रमा 'आजका कविता' विषयमा श्यामल र मुकारुङले अन्तरक्रिया गरेका थिए। श्यामलले अहिले लेखिएका कवितामाथि नै शंका गर्नुपर्ने धारणा राख्दै काठमाडौंमा बसेर जुम्लाको कविता लेखिने प्रवृत्तिको विरोध गरे। कविले आफू बाँचेको समयलाई विम्बित गर्नुपर्ने भन्दै उनले कविताको सत्यतामाथि नै प्रश्न गरेका थिए।
सिर्जनाको सान्दर्भिकता कविको उमेरले भन्दा पनि समयचेत र विषयले पुष्टि गर्ने उनको भनाइ थियो। 'झन्डै ८० प्रतिशत कविले आफ्नो शैली निर्माण गर्न सकेका छैनन्,' श्यामलले भने, 'देवकोटा, भूपि, रिमाल वा विमल निभाकै शैलीभन्दा पृथक् सिर्जना गर्न सकेनौं। अब हामीले आफैंलाई पुनर्मूल्यांकन गर्नुपर्छ।'
श्यामलको टिप्पणीमाथि प्रतिवाद गर्दै मुकारुङले पहिलेका कविता सोही समयमा सान्दर्भिक हुने भएकाले अहिलेका कवितासँग तुलना गर्न नमिल्ने तर्क राखे। पुराना कविहरु नयाँ पुस्ताका सिर्जनाबाट सन्तुष्ट हुन नसक्नु स्वाभाविक भएको उनको भनाइ थियो। 'कविता हतारमा लेखिने विधा होइन,' उनले भने, 'एउटा कविता तयार हुन ४० वर्षसम्म पनि लाग्न सक्छ।'
दोस्रो सत्रमा विमोचनपछि बोल्दै मोमिलाले खनालका कविता शक्तिशाली भएको बताइन्। 'सुनिताका कविता पढ्दा अरु सशक्त कविहरुको अनुहार मेरो दिमागमा आयो,' नयाँ पुस्ताका कविहरुमा उनका कविता अब्बल रहेको भन्दै उनले प्रशंसा गरिन्।
कवि खनालले आफ्ना स्वर्गीय बुवालाई सम्झिँदै कविता लेखनको पृष्ठभूमि सुनाइन्। उनले कार्यक्रममा ओ नायक, आगोको ठेगाना, दुईटा पृथ्वी, पातमा प्रेम लगायत कविता वाचन गरेकी थिइन्।
चार खण्डमा तयार भएको संग्रहमा खनालका प्रकाशित र अप्रकाशित गरी ३६ कविता समाविष्ट छन्। कविता फिनिक्स बुक्सले प्रकाशन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।