काठमाडौं- दक्षिणी छिमेकी भारतबाट नेपालमा उच्च तहको भ्रमणको तयारीका लागि भारतीय सत्तारुढ दलका नेता काठमाडौं आएका छन्।
उच्च तहको भम्रण पूर्वको वातावरण बुझ्न भारतीय जनता पार्टी (भाजपा)का नेता विजय चौथाइवाले काठमाडौं आएका हुन्। चौथाइवाले भाजपाका विदेश विभाग प्रमुख हुन्, जसले विशेषगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका लागि तयारी गर्ने गर्छन्।
मोदीको कुनै राष्ट्र भ्रमणको तय भएपछि उनी केही समयअघि नै त्यहाँ पुग्ने गर्छन् र सरोकारवालाहरुसँग भेटेर त्यहाँको मनोविज्ञान थाह पत्ता लागाउने र त्यसको रिपोर्टिङ गर्ने गर्छन्।
चाँडै मोदी र त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दको नेपाल भ्रमण हुने ठानिएको छ, जसको तयारीस्वरुप उनी नेपाल आएको बुझिएको छ।
नेपाल आएका चौथाइवालेले शुक्रबार नेपाल–भारत मैत्री समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई पनि सम्बोधन गरेका छन्। चौथाइवालेले कार्यक्रममा नेपाल सार्वभौम राष्ट्र भएकाले भारतले कदापि हस्तक्षेप नगर्ने जनाए।

नेपालमा एकथरी मान्छेले भारतको ठूलो डिजाइन रहेको आशंका गर्ने गरेको भए पनि त्यस्तो केही नगरेको उनले दाबी गरे।
अघिल्लो कार्यकालमा मोदीले जनकपुर भ्रमण गर्दा उनी एक हप्ता अघि नै त्यहाँ आएर बसेका थिए। आफ्नो दोस्रो कार्यकाल सुरु गरेयता मोदीले छिमेकका श्रीलंका र माल्दिभ्सको भ्रमण गरिसकेका छन्।
भारतीय प्रधानमन्त्री वा राष्ट्रपतिमध्ये नेपालमा पहिले कसले भ्रमण गर्छन् भन्ने बारेमा अझै यकिन भइसकेको छैन।
भारतबाट उच्च तहको भ्रमण हुने भएपछि त्यहाँका सरकार र सत्तारुढ भाजपाका नेताहरु नेपाल आउने क्रम बाक्लिएको छ। यसअघि भारतीय गुप्चतर निकाय रिसर्च एन्ड एनालाइसिस विङ (रअ)प्रमुख समान्त गोयल र भाजपाका नेता सुब्रमण्यम स्वामी नेपालको भ्रमण गरी फर्किसकेका छन्।
भारतीय विदेशमन्त्री नेपाल आउने
यसैबीच भारतीय विदेशमन्त्री एस जयशंकर पनि नेपाल आउने भएका छन्। दुई देशका परराष्ट्रमन्त्री स्तरीय नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन्।
भदौ ४ र ५ मा हुने बैठकका लागि उनी नेपाल आउने भनिए पनि परराष्ट्र मन्त्रालयले भने अहिलेसम्म भ्रमण मिति निश्चित भइनसकेको जनाएको छ।
उनको भ्रमण पनि मोदीको नेपाल भ्रमणका लागि सहायकसिद्ध हुने ठानिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।