काठमाडौं– सर्वोच्च अदालतले ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले थुनामा राख्ने आदेश गरेका महावीर गोल्यान बाहेकका अन्य प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्न अस्विकार गरेको छ।
न्यायाधीशद्वय अनिलकुमार सिन्हा र शुष्मालता माथेमाको इजलासले लामो बहसपछि टुंगो लगाउँदै यस्तो निर्णय सुनाएको हो। सर्वोच्चले व्यापारी महावीरप्रसाद गोल्यान (चाचाजी) लाई भने १० लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ।
जिल्ला अदालत मोरङ, उच्च अदालत विराटनगर हुँदै सर्वोच्चसम्म आइपुगेको मुद्दामा आज निर्णय भएको हो। दुई साता लामो बहसपछि गत मंगलबार निर्णय सुनाउने मिति तोकिए पनि केही दिनदेखि सर्दै आएको थियो।
जिल्ला अदालत मोरङले धरौटीमा छोड्न अस्विकार गरेपछि आरोपितहरु उच्च अदालत विराटनगर पुगेका थिए। तर उच्चले पनि धरौटीमा छोड्न अस्विकार गरेपछि उनीहरुले त्यसविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए।
सर्वोच्चले आरोपीहरु डिएसपी सञ्जयबहादुर राउत, तुलाराम थारु, रामकुमार तिवारी, गोविन्दप्रसाद निरौला, राजन थापा, गोपालकुमार श्रेष्ठ, हेमन्त गौतम, सम्विरप्रसाद तोलाङ्गे, मदन सिलवाल, अमरमान डंगोल र बालकृष्ण सञ्जेलसहित २८ जनालाई थुनामा राख्ने निर्णय सदर गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।