काठमाडौं- नेकपा विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडैलको हत्याका विषयमा संसदीय छानबिन समिति बनाउने विषयमा सहमति जुट्न नसक्दा प्रतिनिधीसभा बैठक अवरुद्ध हुँदै आएको छ। बैठक सुचारु गर्न सभामुख कृष्णबहादुर महराले बिहीबार गरेको प्रयास पनि असफल भएको छ। उनले सहमतिका लागि आज सर्वदलीय बैठक बोलाएका थिए।
सरकारको नेतृत्व गरिरहेको नेकपाका नेताहरुले संसदीय छानबिन समितिको विकल्प खोज्ने प्रस्ताव गरेपनि प्रतिपक्षको अडानका कारण बैठक बिना निष्कर्ष टुंगिएको हो।
प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले उक्त हत्याको छानबिन गर्न संसदीय समिति गठन गरिनुपर्ने माग गर्दै संसद अवरुद्ध गरिरहेका छन्। उनीहरुका मागसँग सत्तासाझेदार दल समाजवादी पार्टी नेपाल पनि सहमत छ। पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले बैठकमा छानबिन समिति बनाउँदा लोकतन्त्रलाई बलियो बनाउन सकिने राय राखेका थिए। बैठकपछि प्रतिक्रिया दिँदै उनले भने, ‘घटना गम्भीर प्रकृतिकै हो। संसदीय छानबिन समिति बनाउँदा लोकतन्त्रलाई फाइदा नै हुन्छ। छानबिन समितिमा सबै दलका प्रतिनिधि हुन्छन् भनेर सुझाव दिइयो।’
नेपाली कांग्रेसका प्रतिनिधीले संसदीय छानबिनको अभ्यास यसअघि पनि भइसकेको भन्दै सहमतिमा आउन सरकारको नेतृत्व गरिरहेको दल नेकपाका नेताहरुलाई आग्रह गरेका थिए।
कांग्रेस नेतृ पुष्पा भुषालका अनुसार गैह्रकानूनी हत्याका साथै विभिन्न आन्दोलनमा राज्यको बल बढी प्रयोग भएको विषय मानव अधिकारसँग जोडिएकाले संसदीय छानबिन समिति जरुरी रहेको बताएकी छन्। यसमा कांग्रेससँगै र राजपाका नेताहरूले पनि साथ दिएका छन्। उनले भनिन्, ‘प्रमुख प्रतिपक्षी र प्रतिपक्षी मात्रै होइन, अन्य दलको पनि यसमा सहमति छ। सत्ता पक्षको चाहिँ नगर्दा पनि हुन्छ कि भन्ने धारणा आयो।’
संविधानसभा अध्यक्ष तथा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ यस विषयमा थप छलफल जरुरी भएकाले सोमबारसम्मका लागि संसद स्थगित गरिएको बताउँछन्।
बिहीबार दुई बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित भएको छ।
बैठकमा सत्ता पक्षबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, उपप्रधानमन्त्री उपेन्द्र यादव, समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, मुख्य सचेतक देव गुरूङलगायत उपस्थित थिए।
बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदार, मुख्य सचेतक बालकृष्ण खाँड, नेताहरु पुष्पा भुषाल, मिनेन्द्र रिजाल लगायतको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।