काठमाडौं– एक व्यापारीको अंशबन्डा मुद्दामा गलत फैसला गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा कार्यरत एक न्यायाधीशविरुद्ध प्रधानन्यायाधीशको सचिवालय र न्याय परिषदमा उजुरी परेको छ।
जिल्ला अदालत पर्सामा कार्यरत रहेका बेला न्यायाधीश बद्रीप्रसाद ओलीले गलत फैसला गरेको भन्दै उजुरी परेको हो। जिल्ला अदातल पर्सामा रहँदा उनले गलत फैसला गरेको आरोप लगाइएको छ।
व्यापारी शुशीला गोयलविरुद्ध हरिप्रसाद अग्रवाल भएको अंश मुद्दामा न्यायाधीश ओलीले सबै अंश नपाउने फैसला गर्दा न्यायिक विचलन गरेको उजुरीमा उल्लेख छ।
न्यायाधीश ओलीले अग्रवाल परिवारका नाममा रहेको सम्पत्तिबाट अंश पाउने ठहर गर्नुपर्नेमा आर्थिक प्रलोभनमा परी हरिप्रसाद अग्रवालको नाममा भएको सम्पत्तिबाट मात्र पाउने ठहर गरेको उजुरीमा उल्लेख छ। काठमाडौं जिल्ला अदालतमा यस सम्बन्धि मुद्दा विचाराधीन हुदाँहुँदै ओलीले पर्सा जिल्ला अदालतबाट सर्वोच्च अदालतले प्रतिपादिन गरेको नजिर विपरीत हुने गरी फैसला गरेको उजुरीमा उल्लेख छ।
शुशीला गोयलले काठमाडौं जिल्ला अदालतमा पुरानो अंश मुद्दा विचाराधीन रहेकाले तामेलीमा राखीपाउँ भनी दिएको निवेदनको बैवास्ता गर्दै निरन्तर सुनुवाई गरी फैसला गरेको उजुरीमा उल्लेख छ।
मुलुकी ऐन अंशबन्डाको महल र देवानी संहिताको दफा २०६ मा प्रत्येक अंशियार अंशीय हकको समान हकदार हुने व्यवस्था गरेकोमा त्यस विरुद्ध जिल्ला न्यायाधीश ओलीको इजलासले फैसला गरेको उजुरीमा भनिएको छ।
काठमाडौंका विभिन्न स्थानमा रहेका जग्गा, घर, बैक तथा विभिन्न कम्पनीमा रहेको शेयर हिस्सामा समान भाग पाउनु पर्नेमा जिल्ला न्यायाधीशले उक्त दाबी नपुग्ने फैसला गरेको उजुरीमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।