काठमाडौं– नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज (बुधबार) उपत्यकासहित १५ जिल्ला बन्दको आह्वान गरेको छ। विप्लव नेकपाको बन्दका कारण उपत्यकामा खासै प्रभाव नपरे पनि उपत्यका बाहिरका जिल्लामा भने प्रभाव परेको छ।
अहिलेसम्म कहाँ के-के भयो?
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ मा क्विक पार्टी प्यालेसको अगाडि भित्री सडक छेउमा निलो जेब्रा झोलामा कुकुर राखी सोबाट तार निकालेको अवस्थामा शंकास्पद वस्तु भेटिएएको थियो। मंगलबार राति पौने १२ बजे फेला परेको शंकास्पद वस्तुलाई मध्य पृतना सुपारेटार ब्यारेकबाट खटिएको नेपाली सेनाको बम डिस्फोजल टोलीले डिस्फोज गरेको थियो।
उक्त स्थान वडा प्रहरी कार्यालय हेटौंडाबाट २ किलोमिटर पश्चिममा पर्छ।
त्यस्तै, हेटौंडा-११, थानार्याङस्थित शदा शिवम् पेट्रोल पम्पभन्दा १५-२० मिटर टाढा पूर्व-पश्चिम राजमार्गको सडक छेउमा प्रेसर कुकरमा टेप लगाई तार निकालेको शंकास्पद वस्तु बुधबार बिहान साढे ३ बजे फेला परेको थियो।
शंकास्पद वस्तु देखिएपछि प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको टोली खटिएको थियो। नेपाली सेनासँग समन्वय गरेर सवा ४ बजे बिहान उक्त बम डिस्पोज गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उक्त वस्तु डेटोनेटर भएको प्रहरीले जनाएको छ।
हेटौंडा–११, चौकीटोलमा रहेको खाद्य संस्थान अगाडिको बाटोमा प्रेसर कुकरमा टेप लगाई तार निकालेको अवस्थामा अर्को शंकास्पद वस्तु फेला परेको थियो। नेपाली सेनाले उक्त वस्तु डिस्पोज गरेको छ। जहाँ कुकरभित्र एउटा डेटोनेटर राखिएको फेला परेको प्रहरीले जनाएको छ। बम राखेको आशंकामा प्रहरीले एक जनालाई पक्राउसमेत गरेको छ। यद्यपि उनको नाम भने गोप्य राखिएको छ।
हेटौंडा उपमहानगरपालिका–४, परिजात पथस्थित नारायणी नर्सिङ कलेज हाताबाट ५ मिटर पश्चिमतर्फ प्रेसर कुकर बम फेला परेको थियो। नेपाली सेनाको मध्य-पृतना सुपारेटार ब्यारेकबाट क्याप्टेनको कमान्डमा खटिएको टोलीले बिहान साढे ७ बजे उक्त बम डिस्पोज गरेको थियो। कुकरभित्र एउटा डेटोनेटर र गिटी बालुवा फेला परेको प्रहरीले जनाएको छ।
उता नुवाकोटको ककनी गाउँपालिका-१, कागती गाँउस्थित १ नम्बर वडा कार्यालयको भवनमा ४-५ जनाको समूहमा आएका मान्छेले राति साढे ११ बजे पेट्रोल बम प्रहार गरेका थिए।
पेट्रोल बम प्रहारबाट वडा भवनको २ वटा कोठामा रहेका कागजपत्र, फर्निचर, ४ थान पंखा र २ थान कम्प्युटर जलेका छन्। अन्य क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। उक्त स्थानमा प्रहरी चौकी ओखरपौवाबाट प्रहरी सहायक निरक्षिकको कमान्डमा टोली खटिएको थियो।
स्थानीय र प्रहरीको सहयोगमा राति साढे १२ बजे आगो निभाइएको प्रहरीले जनाएको छ। आगजनी गर्ने मान्छेको पहिचान हुन सकेको छैन। उक्त स्थान प्रहरी चौकी ओखरपौवाबाट २ किलोमिटर दक्षिणमा पर्छ।
त्यस्तै विप्लव नेकपाले आह्वान गरेको साविकका बागमती, नारायणी र जनकपुर अञ्चल बन्दका कारण साविकको तुलनामा १५ प्रतिशतमात्रै सवारी साधनहरु उपत्यका भित्रिएको प्रहरीले जनाएको छ।
उपत्यका बाहिरिने सवारी साधनहरु २० प्रतिशत मात्र चलेका छन्। रसुवा, गोर्खा र नुवाकोट जाने काउन्टर खुलेका छैनन्। भने शैक्षिक संस्था धेरैजसो बन्द छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।