काठमाडौं- मेलम्ची नगरपालिका-१० को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ।
मंगलबार राति अज्ञात समूहले आगजनी गर्दा वडा कार्यालय क्षतिग्रस्त भएको छ। ढोकाको ताल्चा काटेर वडा कार्यालयभित्र रहेका कागजातहरु जम्मा गरी आगजनी गरिएको वडाध्यक्ष भक्तबहादुर खड्काले बताए।
मंगलबार कार्यालयको काम सकेर ताला लगाएर आफू घर गएको तर बुधबार बिहान आगजनी गरिएको खबर स्थानीयहरुबाट सुनेपछि आउँदा वडा कार्यालय जलेर ध्वस्त भएको उनको भनाइ छ। वडा कार्यालयभित्र रहेका सम्पूर्ण कागजातहरु जलेर नष्ट भएको उनले जानकारी दिए।

घटना कसले गरायो भन्ने विषयमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख महेन्द्र दर्नालले बताए। घटनाको प्रकृति हेर्दा विप्लवका कार्यकताले गरेको हुनसक्ने सम्भावना कम रहेको उनको आशंका छ। स्थानीयहरुले कुनै अन्य कारणवाट वा रिसइबी साध्न यस्तो गरेको हुनसक्ने सम्भावना रहेको दर्नालको अनुमान छ।
ताला काँटेर आगो लगाउनु र कम्पुटर र दराजभित्र भएका कागजहरुलाई भूइँमा एक गरेर जलाउनु आफैंमा रहस्यमय रहेको दर्नालको बुझाइ छ। घटनास्थलामा विप्लव समूहका कुनै पनि पर्चाहरु नभेटिएकाे उनले जानकारी दिए।
वडा कार्यालयको भवनमा भएको क्षतिको विवरण संकलन भइरहेकाले कति क्षति भयो अहिले नै भन्न सकिने अवस्था नभएको उनले बताए।

स्थानीय लेखनाथ खतिवडाले विप्लवका कार्यकर्ताले आगजनी गर्ने सम्भावना नभएको बताए। द्धन्द्धकालमा समेत तत्कालीन नेकपा (माओवादी)को प्रभाव न्यून रहेको र हाल विप्लवका कार्यकर्ता नै नभएको उक्त वडा कार्यालयमा कुनै रिसइबी वा व्यक्तिगत इगोका कारण जलाएको हुनसक्ने उनको अनुमान छ। राति वरिपरिका स्थानीयहरु सुतेपछि सुटुक्क आएर जलाउनु आफैंमा षड्यन्त्रमुलक भएको उनको बुझाइ छ।
प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको र क्षतिको यकिन गरी दोषीमाथि कडा कारबाहीका लागि मेलम्ची नगरपालिका लाग्ने वडाध्यक्ष भक्तबहादुर खड्काले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।