काठमाडौं- व्यापारी अजेयराज सुमार्गी फेरि सर्वोच्च अदालत पुगेका छन्।
नेपाल स्याटलाइट टेलिकमका तर्फबाट सुभाषचन्द्र पौडेलले सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन्।
नेपाल दुरसञ्चार प्राधिकरणलाई विपक्षी बनाइएको उक्त मुद्दाको पेशी मंगलबारलाई परेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले उक्त मुद्दाको पेशी आफ्नै इजलासमा पेशी तोकेका छन्।
सर्वोच्चमा यसअघि नै सुमार्गीका दुई थान मुद्दा विचाराधीन छन्। स्याटलाइट टेलिकमका लागि भित्र्याएको रकम रोक्ने नेपाल राष्ट्र बैकको निर्णयविरुद्ध दायर भएको रिट र सोही टेलिकमको सेयर खरिद बिक्रीमा लाभकर नतिरेको विवादमा दायर भएको रिट सर्वोच्चमा विचाराधीन छन्।
सुमार्गीको लगानी रहेको स्याटेलाइट टेलिकमको ७५ प्रतिशत सेयर ७ वर्षअघि बिक्री गर्दा ४ अर्ब ३१ करोड ९५ लाख ७९ हजार पुँजीगत लाभकर छली गरेको ठूला करदाता कार्यालयको निर्णयविरुद्ध उनी सर्वोच्च पुगेका थिए। त्यसअघि उक्त टेलिकमका लागि साइप्रसस्थित एरवेल कम्पनीले पठाएको ११ अर्ब वैदेशिक लगानी रोक्का राख्ने निर्णयविरुद्ध सुमार्गी सर्वोच्च पुगेका थिए।
उक्त मुद्दामा एकल इजलासले अन्तरिम आदेश दिएको थियो भने संयुक्त इजलासले खारेज गरिदिएको थियो।
मुक्तिश्री सिमेन्टका लागि भन्दै भित्र्याएको रकम विवादमा भने सर्वोच्चले फैसला सुनाइसकेको छ। सर्वोच्चले उक्त रकम वैधानिक स्रोतबाट आएको पुष्टि हुन नसकेको ठहर गरिसकेको छ। सर्वोच्चले त्यसमाथि अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागको नाममा आदेशसमेत जारी गरेको छ। विभागले त्यसमा अनुसन्धान गरिरहेको छ।
७५ लाख अमेरिकी डलर विवादमा जेठ १४ गते प्रधानन्यायाधीश राणासहितको इजलासले यस्तो फैसला सुनाएको थियो। सुमार्गीका अन्य दुई विवाद अन्तिम सुनुवाइको क्रममा छन्। उक्त मुद्दाहरु किनारा नलाग्दै सुमार्गी अर्को मुद्दा लिएर सर्वोच्च पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।