काठमाडौ- ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङ, उच्च अदालत विराटनगर हुँदै सर्वोच्चसम्म आइपुगेको मुद्दामा मंगलबार निर्णय हुँदैछ।
दुई साता लामो बहशपछि मंगलबारका लागि निर्णय सुनाउने मिति तोकिएको छ। न्यायाधीशद्धय अनिलकुमार सिन्हा र शुष्मालता माथेमाको इजलासले निरन्तर सुनुवाई गर्दै यो मुद्दा निर्णय गर्न लागेको हो।
जिल्ला अदालत मोरङले धरौटीमा छोड्न अस्वीकार गरेपछि उनीहरु उच्च अदालत विराटनगर पुगेका थिए। तर उच्च अदालतले पनि धरौटीमा छोड्न अस्वीकार गरेपछि उनीहरु त्यस विरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए।
सर्वोच्चमा मुद्दा लम्बिएपछि जिल्ला अदालतले उक्त मुद्दामा अन्तिम सुनुवाई सुरु गर्न सकेको थिइन। थुनछेक आदेशमा न्यायिक विचलनमा परेको आरोपमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीशसहित अन्य न्यायाधीश छानबिनमा तानिएपछि यो प्रकरणमा न्यायाधीशहरुले सुनुवाई गर्न टार्दै आएका थिए।
न्याय परिषदले उच्च अदालतका न्यायाधीश उमेशकुमार सिंहलाई बर्खास्त गरेपछि सर्वोच्चमा यो मुद्दाको अन्तिम सुनुवाई सुरु भएको थियो। पक्षका कानुन व्यवसायी र सरकारी पक्षको बहस सोमबार समाप्त भएपछि मंगलबार निर्णय सुनाउने मिति इजलासले तोकेको हो।
२०७५ कात्तिक १२ देखि चैत २४ गतेसम्म आरोपीहरूले सर्वोच्चमा निवेदन दायर गरेका थिए। मोरङ जिल्ला अदालतको आदेशविरुद्ध सुरुमा १२ आरोपीले सर्वोच्चमा निवेदन दिएका थिए। उनीहरुको निवेदनपछि अन्य प्रतिवादीहरु पनि सर्वोच्च आएका थिए।
मोरङ जिल्ला अदालतमा दर्ता भएको सुन तस्करी, कर्तव्य ज्यान तथा संगठित अपराध मुद्दामा उक्त अदालतको आदेशलाई चुनौती दिँदै उनीहरू सर्वोच्च आपुगेका थिए।
आरोपीहरु डिएसपी सञ्जयबहादुर राउत, तुलाराम थारु, रामकुमार तिवारी र गोविन्दप्रसाद निरौला, राजन थापा, गोपालकुमार श्रेष्ठ, हेमन्त गौतम, सम्विरप्रसाद तोलाङ्गे, महावीरप्रसाद गोल्यान, मदन सिलवाल, अमरमान डंगोल र बालकृष्ण सञ्जेल सर्वोच्च आएका थिए।
करिब डेढ महिना लामो अनुसन्धानपछि गत बैसाख २६ गते जिल्ला सरकारी वकिलको कार्यालयले बहालवाला प्रहरी अधिकृतसहित २९ जनालाई पक्राउ गरी अदालतमा पेस गरेको थियो।
उनीहरूविरुद्ध संगठित अपराधअन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरीपैठारी गरेको, अपहरण तथा शरीर बन्धक बनाएको र कर्तव्य ज्यान मुद्दामा आरोपपत्र दायर भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।