काठमाडौं– एक वर्षमा नेपालले २० वटा वायुयान भित्र्याएको छ। निजी वायुसेवा कम्पनीमाझ पछिल्लो समय वायुयान थप्ने होडबाजीसँगै आयात संख्या बढेको हो। आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो आवको तुलनामा वायुयान आयातको संख्यामा ५ वटाले वृद्धि भएको छ।
भन्सार विभागमा अनुसार गत आव २०७५/७६ मा २ हजार केजीभन्दा माथिका ७ वटा र २ हजार केजीभन्दा कममा २ वटा गरी कुल ९ वटा हेलिकोप्टर आयात भएको छ। ९ वटा हेलिकोप्टर आयातमा मात्रै नेपालबाट ४ अर्ब ३७ करोड २६ लाख २७ हजार रुपैयाँ बाहिरिएको छ। साथै नेपाल भित्र्याइएका ९ वटा हेलिकोप्टरबाट १ करोड ४६ लाख २५ हजार रुपैयाँ राजस्व पनि संकलन भएको छ।
आव २०७४/७५ मा जम्मा ७ वटा हेलिकोप्टर आयात भएको थियो। त्यसबापत १ अर्ब १८ करोड २३ लाख ३ हजार रुपैयाँ बाहिरिएको थियो भने सरकारले १ करोड १८ लाख १६ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो।
यसैगरी गत आवमै २ हजार केजीभन्दा कममा ५ वटा जहाज, २ हजार केजीभन्दा बढी तौलका ३ वटा र १५ हजार १५ हजार केजीभन्दा माथिका ३ वटा ठूला हवाई जहाज आयात भएको छ। ११ वटा विमान खरिदमा मात्रै नेपालबाट १५ अर्ब ७३ करोड ४० लाख ६७ हजार रुपैयाँ विदेशिएको छ। साथै ११ वटा विमान नेपाल आउँदा सरकारले १४ करोड ६४ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
तर, आव २०७४/७५ मा ८ वटा मात्रै विमान नेपाल भित्रिएको थियो। ८ विमान खरिदको नेपालबाट १९ अर्ब ६२ करोड ९१ लाख २९ हजार रुपैयाँ बाहिरिएको थियो भने सरकारले १८ करोड ३२ लाख ८८ हजार रुपैयाँ बराबर राजस्व संकलन गरेको थियो।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवमा मात्रै २० वटा वायुयान खरिदमा नेपालबाट २० अर्ब १० करोड ६६ लाख ९४ हजार रुपैयाँ बाहिरिएको छ भने १ करोड ६१ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन भएको छ। तर, अघिल्लो आव २०७४/७५ मा वायुयान संख्या कम भए पनि बाहिरिएको रकम गत आवको भन्दा बढी थियो। अघिल्लो आवमा १५ वटा वायुयान नेपाल आउँदै गर्दा २० अर्ब ८१ करोड १४ लाख ३२ हजार रुपैयाँ नेपालबाट बाहिरिएको थियो।
साथै सरकारले अघिल्लो आवमा वायुयान आयातबाट १९ करोड ५१ लाख ४ हजार रुपैयाँ संकलन गरेको थियो।
योसँगै गत आवमा कुल २३ अर्ब ४० करोड ६० लाख ६३ हजार रुपैयाँ बराबरका वायुयान तथा त्यसका पार्टपुर्जा, प्यारासुरट लगायतको हवाई क्षेत्रमा प्रयोग हुने सामानको आयात भएको छ। यसबाट राज्यले कुल ५२ करोड ३७ लाख १९ हजार रुपैयाँ बराबर राजस्व संकलन गरेको छ। यसैगरी अघिल्लो आवमा भने २३ अर्ब ४७ करोड ७४ लाख ७६ हजार रुपैयाँ बराबरको वायुयान तथा वायुयानको पार्टपुर्जा, प्यारासुरट लगायतको हवाई क्षेत्रमा प्रयोग हुने सामानको आयात भएको थियो। यो रकम पनि गत आवको भन्दा केही बढी हो।
सरकारले अघिल्लो आवमा यसै शीर्षकमा ५२ करोड ३५ लाख ६४ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।