काठमाडौं– नेपालमा बीमा समितिको स्थापना भएको ५१ वर्ष बितिसकेको छ। यद्दपि यसमा नेपालीहरुको पहुँचको तथ्यांक भन्ने सन्तोषप्रद छैन।
नेपालीहरुको बीमा गर्ने उद्देश्यले सरकारले विसं २०२५ सालमा बीमा समितिको स्थापना गरेको हो। गत जेठ १ गते बीमा समितिले आफ्नो ५१औँ वार्षिकोत्सव पनि मनाइसकेको छ।
बीमा समितिले ५१औँ वार्षिक उत्सव मनाइरहँदा १७ प्रतिशत नेपालीहरुको मात्रै जीवन बीमामा पहुँच पुगेको देखिन्छ। उसो त समितिको स्थापना भएको आधा शताब्दी भए पनि नेपालमा बीमा व्यवसायको सुरु भएको भने ७ दशक नाघिसकेको छ।
बीमा व्यवसाय सुरु भएको लामो अवधि भइसक्दा पनि नेपालीहरुको जीवन बीमासम्मको पहुँचबाट ८३ प्रतिशत नेपालीहरु वञ्चित रहेको बीमा समितिले जनाएको छ। यो गत आर्थिक वर्ष २०७५/०७६ को पुस मसान्तसम्मको मात्रै तथ्यांक हो।
समितिले आफ्नो प्रतिवेदनमा २०६८ सालको जनगणना अनुसार नेपालको जनसङ्ख्या (२ करोड ६४ लाख ९४ हजार ५ सय ४) लाई आधार मानेर अनुमानित १७ प्रतिशत नेपालीहरुको जीवन बीमामा पहुँच पुगेको उल्लेख गरेको छ। सोही अवधिमा ५२ लाख ५० हजार १ सयभन्दा बढी बीमा लेख जारी भएको जनाइएको छ।
५२ लाख ५० हजार बीमा लेखमध्ये २ लाख ६२ हजार ४ सय बीमा लेख दोहोरिएको हुनसक्ने अनुमान गरिएको छ। जुन कूल बीमा लेखको ५ प्रतिशत हुन आउँछ।
अघिल्लो आर्थिक वर्ष २०७४।०७५ को तुलनामा भने बीमा पहुँच बढेको समितिको तथ्यांकबाट स्पष्ट हुन्छ। सोअनुसार आव २०७४।०७५ मा ४३ लाख ४३ हजार ५ सय ३५ बीमा लेख जारी भएका थिए। यस तथ्यांकअनुसार १४ प्रतिशत नेपालीहरु जीवन बीमाको पहुँचमा रहेको समितिले उल्लेख गरेको थियो।
आर्थिक वर्ष २०७५।०७६ को असार मसान्तसम्मको बीमा लेख भने जारी गरिएको छैन। यस अवधिसम्म अझै बीमा पहुँच बढ्नसक्ने समितिको अनुमान छ।
किन पहुँचमा छैन बीमा?
अधिकांश बीमा कम्पनीहरु सहर केन्द्रित हुँदा र आम मानिसमा बीमासम्बन्धी चेतनाको अभाव हुँदा नेपालीहरुमा बीमा पहुँचको कमी भएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए।
‘धेरै नेपालीहरुलाई बीमा भनेको के हो? यस सम्बन्धी अधारभूत जानकारी नै छैन्। बीमासम्बन्धी आवश्यक शिक्षा नहुँदा थुप्रै नेपालीहरु बीमाबाट वञ्चित भइरहेका छन्,’ उनले भने। बिस्तारै बीमालाई बलियो बनाउँदै आम नेपालीहरुको पहुँचमा पुर्याउने खालका कार्यक्रमहरु ल्याइने उनको भनाइ छ।
हाल नेपालमा ४० वटा बीमा कम्पनीहरु छन्। ति बीमा कम्पनीहरु मध्ये १९ वटा जीवन बीमा, २० वटा निर्जीवन बीमा र १ वटा पूनर्जीवन बीमा कम्पनी रहेको बीमा समितिले जनाएको छ। संख्यात्मक हिसाबले बीमा कम्पनीहरु पर्याप्त भए पनि बीमा कम्पनीहरुको पहुँच गाउँ-गाउँमा नगन्य मात्रामा छ।
धेरैजसो बीमा कम्पनीहरु सहर केन्द्रित छन्। जसले गर्दा नेपालीहरुको बीमामा पहुँच कम छ। नेपालीहरुको आर्थिक स्तर न्यून भएका कारण पनि बीमाको पहुँचमा कमी रहेको समितिको ठहर छ।
धेरै नेपालीहरुलाई (गास, बास, कपास, स्वास्थ्य, शिक्षा) जस्ता आधारभूत आवश्यकता पूरा गर्न समेत कठिन भएकाले पनि बीमाको पहुँच बढ्न नसकेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।