विरगन्जको रक्सौल नाकाबाट पेट्रोलियम पदार्थ बोकेको ट्यांकर नेपाल भित्रिँदै।
काठमाडौं- सुरुमा गत आर्थिक वर्ष २०७५/०७६ मा वैदेशिक व्यापारसँग सम्बन्धित केही सूचकहरु हेरौं-
-
कूल वैदेशिक व्यापारमा ९३ दशमलब ९ प्रतिशत आयात र ६ दशमलब १ प्रतिशत निर्यात।
-
वैदेशिक व्यापारमा अघिल्लो आर्थिक वर्षको तुलनामा १४.२ प्रतिशतले वृद्धि। आयातमा १३ दशमलब ९३ प्रतिशत र निर्यातमा १९ दशलमव ९६ प्रतिशत वार्षिक वृद्धिदर।
-
२ खर्ब ५४ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात।
-
सवारी साधनको आयातमा बाहिरियो ९१ अर्ब १५ करोड रुपैयाँ।
-
भारतबाट ९ खर्ब १७ अर्ब बराबरको वस्तु तथा सेवा आयात। निर्यात भने ६२ अर्ब ७३ करोड बराबर मात्रै।
उल्लेखित सूचकका आधारमा भन्ने हो भने वार्षिक रुपमा वैदेशिक व्यापारमा भइरहेको वृद्धिसँगै मुलुकले व्यहोर्दै आएको व्यापार घाटा पनि चुलिँदै गएको छ।
गत आर्थिक वर्ष २०७५/०७६ मा मात्र मुलुकको व्यापार घाटा १३ खर्ब २१ अर्ब रुपैयाँ नाँघेको छ। गत आर्थिक वर्षमा नेपालले कूल १५ खर्ब १५ अर्ब ६४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ। जसमध्ये १४ खर्ब १८ अर्ब ५३ करोड रुपैयाँ बराबरको आयात र ९७ अर्ब १० करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा मात्रै निर्यात भएको छ।
यसरी हेर्दा गत आवमा नेपालले निर्यातको तुलनामा १४.६० गुणा बढी आयात गरेको छ।
अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा मुलुकले १३ खर्ब ८७ अर्ब ६३ करोड ८६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापारमा १२ खर्ब ११ अर्ब ९६ करोड ७७ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा व्यापार घाटा १३ दशमलब ५५ प्रतिशतले बढेको विभागको तथ्याङ्कले देखाउँछ।
गत आवमा नेपालले गरेको कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९३ दशमलब ६ प्रतिशत र निर्यातको हिस्सा ६ दशमलब ४ प्रतिशत बराबर छ। अघिल्लो आर्थिक वर्षमा यसको अनुपात ९३ दशमलब ९ प्रतिशत र ६ दशमलब १ प्रतिशत बराबर थियो।
व्यापार घाटाको ६४ दशमलब ७१ प्रतिशत हिस्सा भारतसँगको व्यापार
विभागको तथ्याङ्कअनुसार कूल व्यापार घाटाको ६४ दशमलब ७१ प्रतिशत हिस्सा छिमेकी मुलुक भारतसँग भएको व्यापारले ओगटेको छ।
गत आवमा नेपालले भारतसँग गरेको ९ खर्ब ८० अर्ब ६५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापारमा ९ खर्ब १७ अर्ब ९३ करोड रुपैयाँ बराबरको आयात र ६२ अर्ब ७३ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ। दुई देशबीचको व्यापार घाटा ८ खर्ब ५५ अर्ब १९ करोड रुपैयाँ बढी छ। गत आर्थिक वर्षमा यो आँकडा करिब ६ खर्ब रुपैयाँ बराबर मात्रै थियो।
विरगन्ज भन्सारमा मालबाहक ट्रक तथा कन्टेनर। तस्बिर-विरगन्ज सञ्जाल।
त्यस्तै, नेपालसँग दोस्रो ठूलो वैदेशिक व्यापार गर्ने देश चीनसँग गत आवमा २ खर्ब ५ अर्ब ५१ करोड रुपैयाँ बराबरको आयात र २ अर्ब १० करोड ९७ लाख रुपैयाँ बराबरको निर्यात गर्दा २ खर्ब ३ अर्ब ४० करोड रुपैयाँ बराबर व्यापार घाटा देखिन्छ। चीनसँगको मात्र व्यापार घाटा नेपालले व्यहोरेको कूल व्यापार घाटाको १५ दशमलब ३७ प्रतिशत हुन आउँछ।
संयुक्त अरब इमिरेट्स (युएई) नेपालसँग वैदेशिक व्यापार गर्ने तेस्रो ठूलो मुलुकका रुपमा देखिएको छ। अघिल्लो आर्थिक वर्ष यस स्थानमा भियतनाम थियो। संयुक्त अरब इमिरेट्सले नेपालसँग ३५ अर्ब ३६ करोड ६४ लाख रुपैयाँ बराबरको आयात र ३२ करोड ५४ लाख रुपैयाँ बराबरको निर्यात गर्दा व्यापार घाटा ३५ अर्ब १० करोड ४ रुपैयाँ बराबर देखिन्छ।
५ वर्षमा व्यापार घाटा दोब्बर
आर्थिक वर्ष २०६९/०७० मा मुलुकको कूल वैदेशिक व्यापार ६ खर्ब ९१ अर्ब ३ करोड ८२ लाख १५ हजार रुपैयाँ बराबर थियो भने व्यापार घाटा ५ खर्ब ३६ अर्ब ६४ करोड ३४ लाख ६२ हजार रुपैयाँ मात्रै थियो।
त्यसैगरी, आर्थिक वर्ष २०७०/०७१ मा बढेर ८ खर्ब ५ अर्ब ७५ करोड २५ लाख ८० हजार बराबरको वैदेशिक व्यापार हुँदा व्यापार घाटा पनि तुलनात्मक रुपमा बढी हुन गयो। यस वर्ष व्यापार घाटाको आँकडा ६ खर्ब २६ अर्ब ५० करोड १७ लाख ८९ हजार रुपैयाँ थियो।
समयक्रमसँगै पछिल्लो ५ वर्षको अवधिलाई हेर्ने हो भने नेपालको वैदेशिक व्यापार र व्यापार घाटा दोब्बरले बढेको छ।
आयातमा विरगन्ज र निर्यातमा विराटनगर ठूलो भन्सार नाका
मुलुकको सबैभन्दा ठूलो व्यापारिक नाका विरगन्ज आयातमा पनि सबैभन्दा ठूलो भन्सार नाकाका रुपमा देखिएको छ। गत आवमा विरगन्ज भन्सारबाट मात्र कूल हिस्साको ३४ दशमलब ७३ प्रतिशत आयात र २२ दशमलब ३३ प्रतिशत निर्यात भएको देखिन्छ। यो नाकाबाट ४ खर्ब ९२ अर्ब ६६ करोड रुपैयाँ बराबरको आयात र २१ अर्ब ६८ करोड २० लाख रुपैयाँ बराबरको निर्यात भएको छ।
निर्यातमा भने विराटनगर सबैभन्दा ठूलो भन्सार नाकाका रुपमा देखिएको छ। कूल निर्यातको २९ दशमलब ४९ प्रतिशत अर्थात २८ अर्ब ६३ करोड २९ लाख रुपैयाँ बराबरको वस्तु यस नाकाबाट निर्यात भएको छ। विराटनगर आयातमा तेश्रो ठूलो नाका हो।
नेपालका भन्सार नाकाहरु। स्रोत-भन्सार विभाग।
मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमास्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट १ खर्ब ५४ अर्ब ८८ करोड रुपैयाँ बराबरकोे आयात र २३ अर्ब ७४ करोड ६३ लाख रुपैयाँ बराबरको निर्यात भएको भन्सार विभागको तथ्यांकले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आयात गर्ने चौथो ठूलो भन्सार कार्यालय हो भने निर्यातमा दोस्रो ठूलो।
गत आवमा देशभरका ९ वटा भन्सार कार्यालयबाट भने एक रुपैयाँ बराबरको सामान पनि विदेश निर्यात भएको देखिँदैन।
कुन वस्तु बढी आयात र निर्यात?
नेपालले आयात गर्ने प्रमुख वस्तुहरुमा पेट्रोलियम पदार्थ पहिलो नम्बरमा रहेको छ। गत आर्थिक वर्षमा नेपालले सबैभन्दा धेरै २ खर्ब ५४ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ। त्यसैगरी, १ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको फलाम तथा स्टिलका सामान र ९१ अर्ब १५ करोड रुपैयाँ बराबरका सवारी साधन आयात भएको विभागको तथ्यांकले देखाउँछ।
पेट्रोलियम पदार्थबाहेक नेपालले भारतबाट उच्च आयात गर्ने वस्तुहरुमा फलाम तथा तिनका उत्पादनहरु, यातायातका साधनहरु, मेसिनरी तथा पाटपुर्जा र खाद्यान्न पर्दछन्।
चीनबाट हुने आयातमा भने दुरसञ्चारका सामाग्रीहरु, विद्युतीय उपकरणहरु, मेसिनरी तथा पाटपुर्जा, स्याउ तथा रासायनिक मलजस्ता वस्तुहरु प्रमुख छन्। युएईबाट भने सुन, चाँदी, प्लाष्टिकको कच्चापदार्थ, लुव्रिकेटिङ तेल र चकलेटजस्ता वस्तुहरु ठूलो मात्रामा आयात भएको देखिन्छ।
सोही अवधिमा नेपालबाट निर्यात भएका प्रमुख वस्तुहरुमा ऊनी गलैंचा, तयारी पोसाक, मसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टिल र तिनका उत्पादनहरु मुख्य रहेका छन्। त्यस्तै, हस्तकलाका सामानहरु, चाउचाउ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिबुटी आदि वस्तुहरुको पनि निर्यात भएको देखिन्छ।
विगत ७ वर्षदेखि वैदेशिक व्यापार र व्यापारघाटाको स्थीतिः
.JPG)
(मुल तस्बिर-कलियुग सन्देश)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।