फाइल तस्बिर
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-भारतबीचको व्यापार र लगानीलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।
प्रधानमन्त्री ओलीले सडक र रेल सेवाको विस्तार गरेर दुई मुलुकबीचको व्यापारलाई सहज बनाउन नेपाल सरकार लागी परेको पनि बताए।
आइतबारबाट काठमाडौंमा सुरु भएको ‘नेपाल–भारत पारवहन सहजीकरण सम्मेलन’को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले दुवै मुलुकको आर्थिक विकास र जनतासँगको सम्बन्धलाई विस्तार गर्न पनि पारवहन सहजीकरणमा जोड दिनुपर्ने पनि स्पष्ट पारे। प्रधानमन्त्री ओलीले नेपालको व्यापारको ठूलो हिँस्सा भारत र भारतबाटै हुने भएकाले त्यसलाई अझै सहज ढंगले अघि बढाउनुपर्नेमा पनि जोड दिए।
'छोटो समयमै नेपालमा सहज ढंगले सामानहरुको ढुवानी हुने गरी पारवहन सहजीकरण गर्न भारतीय पक्षबाट आवश्यक सहयोगको अपेक्षा गरिएको छ,' उनले भने।
कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपालको समृद्धिका लागि आवश्यक सबै खालको सहयोग गर्न भारत तयार रहेको बताए। दुई दिनसम्म चल्ने सम्मेलनमा दुवै देशका व्यापारी तथा वाणिज्य क्षेत्रका विज्ञहरू, सरकारी पदाधिकारीहरुले दुई मुलुकबीच हुने आयात/निर्यात सहजीकरणका विषयमा विस्तृत छलफल गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।