एजेन्सी- संसारका ९६ वटा राष्ट्र घुमेका माइकल पालिन र १ सय २० राष्ट्रमा आफ्नो पाइला राखेकी महारानी एलिजाबेथ द्वितीयलाई एकछिन बिर्सिने हो भने एउटा मात्र नाम बाँकी रहन्छ– सल लवाल्लो।
एउटा विशिष्ट क्लबमा सामेल उनले हालसम्म संसारका सबै देशहरुको भ्रमण गरिसकेका छन्। चाखलाग्दो कुरा त उक्त क्लबमा हालसम्म न उनका साथी नै छन् न त प्रतिस्पर्धी।
मात्र २७ वर्षको युवा उमेरमै उनका पैतालाले १ सय ९३ वटा देशको माटोलाई स्पर्श गरिसकेका छन्। संयुक्त राष्ट्रसंघबाट मान्यता पाएका देशहरुमध्ये उनले २०१७ को नोभेम्बरमा युरोपियन मुलुक माल्टाको भ्रमण गरेसँगै सो आँकडा पुगेको हो।
यात्रा सुरुवातको पृष्ठभूमि
अमेरिकाको इन्डियाना राज्यमा जन्मिएका लवाल्लोमा पृथ्वीका सबै देशहरु घुम्ने सोच एकैचोटि पलाएको होइन।
जब उनले संयुक्त विश्व महाविद्यालयमा पढ्ने मौका पाए त्यहाँ १ सयभन्दा बढी देशका विद्यार्थीसँग उनको साक्षात्कार भयो। एक समय सोही विद्यालयकै माध्यमबाट भेट भएका विभिन्न देशका पूर्वसाथीहरुलाई भेट्न मन भयो र अनौपचारिक तवरबाट उनको विश्वयात्राको थालनी भयो।

औपचारिक अध्ययनपछि संयुक्त अरब इमिरेट्सको अवुधाबीमा लगानी विश्लेषकको जागिरमा व्यस्त उनले एकाएक सन् २०१६ मा जागिरबाट विश्राम लिए। यसअघि कामको सिलसिलामा जुनजुन देश पुग्थे त्यसको सम्पूर्ण तथ्य र जानकारीलाई समेटेर ब्लग लेख्दै आफ्नो वेबसाइट तथा सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गर्ने गर्थे। यसरी अपलोड गरिएका पोस्टप्रति उनका साथी, शुभचिन्तक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताको आकर्षण बढ्न थालेपछि उनलाई यही बाटो नै सही लाग्यो र जागिर छाडेर एउटा मिसनमा निस्किए। जुन मिसनमा उनले आफ्ना पूर्वविद्यार्थी साथीलाई भेट्न विभिन्न देशको भ्रमण गर्ने योजना बनाए।

उनले विदेश भ्रमणको सुरुवात भने सन् २००४ मा नै गरेका थिए। त्यतिबेला जापान र चीनबाट सुरु भएको यात्राले सन् २००९ सम्म त्यति गति भने लिइसकेको थिएन। पढ्दै र कामलाई सँगसँगै अघि बढाएका उनले त्यसपछिका वर्षमा भने भ्रमणलाई पनि आफ्नो नियमित तालिकामा राख्न थाले। यसरी सन् २०१५ सम्म आइपुग्दा उनले वार्षिक १५–२० देशको भ्रमण गर्ने गर्थे। जागिर छोड्ने बेलासम्ममा त उनले करिब १ सय १५ देश टेकिसकेका थिए। पछिल्ला २ वर्षमा उनले अठोट नै लिए कि साथी भेट्नु मात्रै मेरो लक्ष्य बनाउनु हुँदैन बरु विश्व नै भ्रमण गर्छु। आखिर गत नोभेम्बरमा उनले आफ्नो सो अठोट पूरा गरेरै देखाए। विश्वका सबै देशको माटोको सुगन्ध लिन पाउने लवाल्लो संसारकै एक मात्र व्यक्ति बनेका छन्।
किन निस्किए यात्रामा?
संसारका सारा राष्ट्रहरुको भ्रमण तथा पर्यटन प्रवर्द्धन गर्नु मात्रै उनको उद्देश्य थिएन।
‘फरकफरक देशका मानिसलाई बुझ्नु, उनीहरुसँग सम्पर्क स्थापित गर्नुभन्दा पनि विश्वभरमा विभिन्न समाजमा देखिने सूक्ष्म विविधतालाई अध्ययन गर्न निकै उत्सुक थिएँ,' यात्राको कारणबारे उनी भन्छन्, 'त्यसकारण मलाई संसारको कुनै एउटा स्थानको मात्रै खोजी गर्नु थिएन बरु ती स्थानका छिमेकी ठाउँ तथा देशबीचमा केके समानता र फरकपन थियो भनेर केलाउनु थियो। भ्रमणका क्रममा सबै ठाउँले आफ्नो छुट्टै परिचय स्थापित गरेर एकअर्काका तुलनामा कसरी अद्वितीय छन् त्यो मलाई बुझ्नु थियो।’
रोचक क्षणहरु
आइभरी कोस्टमा प्रवेशका लागि उनले २ फरक सीमाबाट कोसिस गरे तर सफल हुन सकेनन्। जब तेस्रो पटक प्रवेश पाए, आफ्नो भ्रमण पनि उत्तिकै फलदायी बन्न पुग्यो।
उता लिबियाको भिसामा ३ साता ढिलो भए पनि उनी पछि मात्रै त्यहाँ पुग्न सके। उनलाई सन् २०११ म दक्षिणी सुडान पुग्ने मन थियो जति बेला उक्त देश संसारकै सबैभन्दा कान्छो देश बनेको थियो। तर दुर्भाग्य सीमा बन्द गरिएकाले उनले प्रवेश पाएनन्। पछिल्लो अगस्टमा उनी त्यहाँ पुगे पनि २०११ मा दक्षिणी सुडान पुग्न नसक्नुलाई उनी विश्वयात्राको क्रममा सबैभन्दा अफसोस लागेको क्षण मान्दछन्।

गत वर्ष अगस्ट र सेप्टेम्बरमा उनी पछिल्लो समय गृहयुद्ध तथा आतंकवादले जकडिएका लिबिया, सिरिया, अफगानिस्तान जस्ता देशको यात्रामा निस्किए।
‘म सायद संसारकै सबैभन्दा भाग्यमानी मानिस हुँ। वर्षौँअघिका साथी तथा उनका परिवारका घरमा त्यस्तो जटिल समयमा पनि समय गुजार्न पाएँ,' यात्राको रोमाञ्चक र जटिल क्षणलाई उनी सम्झन्छन्, 'जति पटक ती देशको नाम लिन्छौँ जहाँ हिंसा मच्चिएको थियो; त्यति नै पटक डरलाग्दो, नकारात्मक र हृदयविदारक दृश्य मानसपटलमा आउँछ। तर सोचे जस्तो अवस्था मैले भेटेका साथी, उनका परिवार र समाजमा फेला पारिन। त्यहाँ पनि जीवन थियो, एकापसमा माया थियो र हाम्रो जस्तै खुसी पनि। तर… एउटा सानो झिल्कोले पूरै परिवेश कुरुप बनाइदिएको छ।’
हुक्का तान्न तथा फुटबल खेलेको हेर्न लिबिया, विवाहमा सरिक हुन सिरिया तथा हाँस जस्ता डुंगाहरुको पाइडल चलाउन अफगानिस्तान उनले सम्झिइरहने देश हुन्। जहाँ आफै पुगेर अनुभव गरेर फर्किएका छन्।
खानाको तितोमिठो
लवाल्लोलाई लाग्छ, यात्राका क्रममा यदि कुनै पागलपनवाला चिज उनले खाएको भए त्यो चमेरो हो। पलाउ भन्ने देशमा चमेरोको पूरा शरीर (भुत्ला, पखेटा, दाँत लगायत) को नै स्वाद लिन पाएको उनी बताउँछन्।
बाख्राको उमालेको टाउको खान पाउँदा भने उनलाई अरु केही चाहिन्न। नामिबिया, तान्जानिया र अल्वानियामा प्रसिद्ध यो परिकारमा जिब्रो, गाला तथा मस्तिष्कका अलावा भरपुर मासु पाइनु नै यसको विशेषता हो।
काँचो मासुबाट बनाएको इथियोपिएन परिकार अझै पनि उनको सम्झनामा आइरहन्छ। उनी भन्छन्, ‘जबजब म दक्षिण अफ्रिकातिर फर्किन्छु, त्यहाँ पाइने सर्पबाट बनाइने परिकार ड्राइओर र विभिन्न मासु मिसाएर बनाइने विल्टोङ सम्झन्छु। यस्तो लाग्छ, म यी परिकार जतिबेला पनि खान सक्छु।’

यात्राका दौरानमा उनले जनावरबाट दुहुने बित्तिकैको काँचो दूध भने कहिल्यै खाएनन्। ऊँट, घोडा, जरायो लगायतको काँचो दूध सेवन गर्ने मौका उनलाई नमिलेको होइन तर खाऊँ जस्तो लागेन। ‘मलाई अझै पनि याद छ, मंगोलियामा आधा दर्जन प्रकारका सुक्खा दूध र दही राखेर छान्न भनिएको थियो,' उनले भने, 'तर छानिसकेपछि त्यसलाई नसिध्याईकन भुइँमा राख्न पाइँदैनथ्यो।’
सन् २०११ मा तान्जानिया पुगेर लवाल्लोले ६ साता बिताए। उनी एक गैरसरकारी संस्थाको कार्यक्रमको सिलसिलामा पुग्दा सांस्कृतिक रूपबाट कसरी समावेशी विकासका लागि काम गर्न सकिन्छ भनेर अध्ययन गर्न पाए। त्यस क्रममा त्यहाँका मानिस, भाषा, खाना लगायत धेरै चिजले उत्साहित बनाइदियो । र, उनी ती सबै सामाजिक अवयवहरुको अध्ययनमा लागिपरे। ‘तान्जानियनसँग ‘टुकोपामोजा’भन्ने विचारधारा थियो। जसको अर्थ ‘हामी सबै एकसाथ छौँ’ भन्ने हुन्थ्यो,' उनी भन्छन्, 'जो उनीहरुको समावेशी र समुदायमा आधारित समाज निर्माणको प्रतीक थियो।’
त्यसकारण पनि उनी तान्जानिया ५ पटक पुगेका छन्। जसले गर्दा उनलाई प्रेरणा मिल्यो।
आजकाल उनलाई लाग्छ, संसारको हरेक क्षेत्रमा सुन्दरता र सकारात्मकता मात्रै छ। आमरुपमा यो सौन्दर्य मानिसको मनभित्र छ।

‘अहिले पनि म त्यस्तो व्यक्तिसँग भेट्न चाहँदिन, जसको साथ म गाँसिन र उसलाई महसुस गर्न असमर्थ हुन्छु। जति पनि व्यक्ति र परिवेशसँग मेरो साक्षात्कार भएको छ ती सबै पात्र तथा दृश्यहरु आज पनि आँखैमा छन्,' आफ्नो यात्राबारे लवाल्लोले अनुभूति पोखे, 'यो सारा विश्व मेरो आँखामा छ। र, म यो विश्वको सौन्दर्य बोकेर हिँडिरहेको छु।’
दि टेलिग्राफका लागि ग्रेग डिकिन्सनले तयार पारेको आलेख
अनुवाद : विमर्श कँडेल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।