बुधबार चीन प्रस्थान गर्नुअघि मन्त्रीसहितको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा।
इटहरी– चीनको एक निजी कम्पनीले निमन्त्रणा गरेको कार्यक्रममा प्रदेश १ का दुई जना बहालवाला मन्त्री र सांसदहरुको टोली परराष्ट्रको अनुमति नै नलिई गएको पाइएको छ। उद्योग वाणिज्य संघ प्रदेश १ र मन्त्रीको टोलीलाई गरिएको आमन्त्रणमा प्रदेश १ का दुई मन्त्रीसहित ९ जनाको टोली बुधबार नै चीन प्रस्थान गरेको हो।
सरकारले हालै जारी गरेको 'प्रदेश तथा स्थानीय तहले विदेशी सरकार, नियोग, प्रतिनिधि र अन्तर्राष्ट्रिय संघसंस्थासँग सम्पर्क गर्न अबलम्बन गर्नुपर्ने कार्यविधिसम्बन्धी निर्देशिका, २०७६' अनुसार प्रदेशका मन्त्री तथा सांसदहरुलाई पनि विदेश भ्रमणमा जाँदा परराष्ट्र मन्त्रालयको अनिवार्य स्विकृति लिनुपर्ने हुन्छ। तर, सरकारको निर्देशिका लत्याउँदै बहालवाला मन्त्री तथा सांसदको टोली नै चीन पुगेको हो।
परराष्ट्र मन्त्रालयका सहप्रवक्ता सुरेश अधिकारीले प्रदेश १ का मन्त्री, सांसद तथा व्यापारीको चीन भ्रमणका बारेमा परराष्ट्र मन्त्रालयलाई कुनै जानकारी नभएको स्पष्ट पारे। 'मैले चाइना डिपार्ट हेर्ने साथीहरुसँग पनि बुझें। तर, उहाँहरुले अहिलेसम्म कुनै सूचना नपाएको बताउनु भएको छ,' उनले भने, 'अहिलेको निर्देशिकाअनुसार परराष्ट्रको अनिवार्य स्विकृति लिनुपर्ने हुन्छ। तर, उहाँहरुले किन लिनु भएन त्यो थाहा भएन।’
सहप्रवक्ता अधिकारीका अनुसार प्रदेश मन्त्री तथा संसदको चीन भ्रमण 'प्रदेश तथा स्थानीय तहले विदेशी सरकार, नियोग, प्रतिनिधि र अन्तर्राष्ट्रिय संघसंस्थासँग सम्पर्क गर्न अबलम्बन गर्नुपर्ने कार्यविधिसम्बन्धी निर्देशिका, २०७६' को दफा ५ को विदेश भ्रमण सम्बन्धमा उल्लेखित व्यवस्थाको विपरीत देखिएको छ।
सो निर्देशिकाको दफा ५ को उपनियम १ मा 'प्रदेश पदाधिकारी तथा प्रदेशका कर्मचारीले सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्नुअघि परराष्ट्रको स्वीकृति लिनुपर्ने' उल्लेख गरिएको छ। त्यस्तै, उपदफा २ मा अन्य कामको सिलसिलामा गएको भए नेपाल सरकार, अर्थ मन्त्रालयको समेत अनुमति लिनुपर्ने बताइएको छ।
उपदफा ११ मा प्रदेशका पदाधिकारिको व्यक्तिगत भ्रमण भएको भए पनि परराष्ट्र मन्त्रालयमा अनिवार्य जानकारी गराउनुपर्ने स्पष्ट व्यवस्था छ।
तर, प्रदेश १ का मन्त्री तथा सांसदले आफू संस्थागत या व्यक्तिगत भ्रमणमा चीन गएको हो, सोको बारेमा समेत परराष्ट्रमा जानकारी नगराएको अधिकारीले जानकारी दिए।
को-को सामेल छन् भ्रमण टोलीमा?
चीनको सिचुवान प्रान्तमा रहेको साङ्दोङ हुआजिया वाटर कोअपरेटिभ लिमिटेडको निमन्त्रणामा ९ जनाको टोली बुधबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनतर्फ प्रस्थान गरेका थिए।
भ्रमण दलमा प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश प्रसाद कुसियैत, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो रहेकाछन्। मन्त्रीका अलावा सांसदहरू सर्वध्वज सावाँ, तेजमान कन्दङ्वा र बिन्दिया कार्की समेत चीन गएको बताइएको छ।

मुख्यमन्त्री कार्यालयका सचिव भरतमणि रिजाल, सहसचिव टिकादत्त राई र मुख्यमन्त्री शेरधन राईका स्वकीय सचिव मकर खड्कासमेत भ्रमण दलमा सामेल छन्। व्यवसायीको तर्फबाट भने उद्योग, वाणिज्य महासंघका उपाध्यक्ष राजेन्द्र राउतमात्रै सहभागी छन्।
चिनियाँ पानी कम्पनीले प्रदेश १ का उद्योग वाणिज्य महासंघका व्यवसायीहरुलाई आफ्नो प्रान्तको व्यापारिक र औद्योगिक क्षेत्र अवलोकनको लागि बोलाएको भए पनि भ्रमण टोलीमा एक जना व्यवसायीलाई मात्रै समेटिएको छ।
उक्त चीनियाँ कम्पनीले १८ जुलाईमा पठाएको पत्रमा व्यापारीसहित मन्त्री र सांसदलाई निमन्त्रणा गरेको छ। व्यवसायीहरुलाई सिजुवान प्रान्तका उद्योगहरुमा विकास गरिएका प्रविधि र प्रणालीको अवलोकनका लागि भन्दै कम्पनीले बोलाएको पत्रमा उल्लेख छ।
.jpg)
नेपाल लाइभलाई प्राप्त उपाध्यक्ष राउतका नाममा पठाइएको पत्रमा राउतसँग आउने सम्पूर्ण व्यक्तिको खर्चसमेत कम्पनीले नै बेहोरिदिने स्पष्ट पारिएको छ।
यसअघि गत जुलाई ३ र ४ मा चिनियाँ व्यवसायी टोलीले प्रदेश १ का विभिन्न पक्ष तथा व्यक्तिसँग भेटघाट गरेको थियो। सो क्रममा चिनियाँ टोली नेपाली व्यवसायीको टोलीलाई पनि चीनको औद्योगिक क्षेत्रको भ्रमणमा आउन निम्ता दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।