काठमाडौं– गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट वार्ताका लागि औपचारिक कुरा नआएको बताएका छन्। मंगलबार गृह मन्त्रालयमा आयोजित वार्षिक कार्यसम्पादन र भावी कार्यदिशाका सम्बन्धमा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले सो कुरा बताएका हुन्।
गृह मन्त्रालयको मुख्य जिम्मेवारी शान्ति सुरक्षा कायम गर्नु रहेको बताउँदै मन्त्री थापाले त्यसका लागि गृह मन्त्रालयल सफल रहेको दाबी गरे। ‘देशमा शान्ति सुरक्षा कायम गर्ने काममा गृह मन्त्रालय सफल रह्यो भन्ने हाम्रो बुझाइ हो। अन्तर्राष्ट्रिय संघसंस्थाको प्रतिवेदनको निष्कर्ष पनि हो,’ उनले भने, ‘यसको अर्थ हामी पूर्ण रुपमा सफल छौं भन्ने होइन।’
अहिलेको शान्ति सुरक्षाको मुख्य चुनौती विप्लव समूह रहेको भन्दै उनले उक्त समूहलाई मुलधारमा ल्याएपछि शान्ति सुरक्षाको अवस्था पूर्ण हुने उनले बताए।
विप्लव समूहलाई मुलधारमा ल्याउनेबारे छलफल भइरहेको भए पनि औपचारिक रुपमा विप्लव समूहबाट वार्ताको कुरा नआएको मन्त्री थापाको भनाइ छ।
‘वार्ताबाट राजनीतिक समस्या हल गर्नेबारे उनीहरुसँग अनौपचारिक छलफल भइरहेको छ। तर विप्लवबाट औपचारिक वार्ताको कुरा आएको छैन,’ मन्त्री थापाले भने, ‘तर हामीले अनौपचारिक छलफल गरिरहेका छौं।’
'निर्मला काण्ड नयाँ होइन'
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या अनुसन्धानबारे पत्रकारले राखेको जिज्ञासामा उनले यस्ता घटना नौलो नभएको बताए। ‘निर्मला पन्तको घटना नौलो होइन। यस्तो घटना हिजो पनि भएको थियो। अहिले पनि भइरहेका हुन्छन्। भोलि पनि लामो समयसम्म यस्ता घटनाहरु हुन्छन्,’ गृहमन्त्री थापाले भने।
निर्मला काण्डमा राजनीति घुसेकाले अनुसन्धान केही अफ्ठयारो भएको बताउँदै मन्त्री थापाले अनुसन्धानमा सबैले सहयोग गर्नुपर्ने बताए।
९५ प्रतिशत अपराध अनुसन्धानमा नेपाल प्रहरी सफल हुँदै आएको तर ५ प्रतिशत अपराध असफल भएकै कारणले अर्को आलोचना हुने गरेको उनको भनाइ थियो।
कार्यक्रमम बोल्दै गृहसचिव प्रेम राईले निर्मला काण्डमा प्रारम्भिक त्रुटिका कारण हत्यारा पत्ता लाग्न कठिन भएको बताए।
अध्यागमनबाट हुने गरेको मानव बेचबिखन र सुन तस्करीका घटनामा पनि कमी आएको गृहसचिव राईको भनाइ छ।
'सिन्डिकेट हटेन'
सचिव राईले पूर्ण रुपमा सिन्डिकेट नहटेको स्वीकार गर्दै भने, ‘सिन्डिकेटलाई समितिबाट कम्पनीमा लैजान सफल भएका छौं। बिस्तारै यो निस्तेज पार्छौं। अहिले नै पूर्ण रुपमा सिन्डिकेट नहटेको कुरा सत्य हो।’
कार्यक्रममा गृह मन्त्रालयले वर्षभरि गरेका कामका फेहरिस्त सुनाएको थियो। विभिन्न २७ वटा कानुन तर्जुमा गरिएको, विपद जोखिम न्यूनीकरण राष्ट्रिय नीति र रणनीतिक कार्ययोजना लगायतका विभिन्न कार्यविधि र मापदण्ड निर्माण गरिएको गृह मन्त्रालयले जनाएको छ।
७५३ वटै स्थानीय तहमा नेपाल प्रहरीको युनिट स्थापना गरिएको, सशस्त्र प्रहरी बलका १६ वटा इकाइ थप गरी ७७ वटै जिल्लामा पुर्याइएको, ८७ स्थानमा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएकोमा २० वटा थप गरी १०७ पुर्याइएको, सिंहदरबार सुरक्षाको गुरुयोजना तयार गरी लागू गरिएको मन्त्रालयका सहसचिव नारायण दुवाडीले बताए।
नेपालको शान्ति सुरक्षाको अवस्थामा नेपाल ग्लोबल पिस इन्डेक्स २०१९ मा विश्वका १६३ वटा देशहरु मध्ये ८८ औं स्थानमा रहेको दुवाडीले बताए। यसअघि सन् २०१८ मा मा नेपाल ७६ औं स्थानमा थियो। यस वर्ष केही सुधार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।