काठमाडौं- गुल्मीका दुई स्थानमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ। सत्यवती गाउँपालिका-४, मिल्मीमा आज बिहान खसेको पहिरोमा परि ४ जनाको मृत्यु हुनाका साथै थप ५ जना बेपत्ता भएका छन्।
सत्यवती गाउँपालिका-४ का वडाध्यक्ष दानबहादुर रानाका अनुसार हालसम्म ४ जनाको शव बाहिर निकालिएको छ। 'वस्तीमाथि करिब २ सय मिटरको उचाईबाट खसेको पहिरोले ३ घर बगाएको छ। ३ परिवारका ९ जना सुतिरहेको अवस्थामा पहिरो गएकोमा हालसम्म ४ जनाको शव निकालिएको छ,' उनले भने।
मृत्यु हुनेमा ६५ वर्षीय छल्लली बिक, २८ वर्षीय पम्फा बिक, १२ वर्षीय अञ्जली बिक र १० वर्षीय हेमन्त बिक छन्।
गुल्मीका प्रहरी प्रमुख दीपक कुमार बस्नेतले घटना मंगलबार बिहान ४ बजेतिर भए पनि स्थानीयले करिब ५ बजेतिर थाहा पाएर खबर गरेको जानकारी दिए। अहिले घटनास्थलमा सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको उनले बताए।
सो क्षेत्रमा सोमबार साँझदेखि पानी परेको र वरपरका परिवारलाई भने सकतर्कता अपनाउन आग्रह गरिएको वडाध्यक्ष रानाले बताए। वस्ती तत्काल सार्नुपर्ने आवश्यकता भने नरहेको उनको भनाइ छ।
सोही गाउँपालिकाको वडा नम्बर ३ मा पनि पहिरो गएको छ। सत्यवती गाउँपालिका–३, ठूलोलुम्पेक कसिन डाँडामा पहिरोले घर पुरिँदा ३२ वर्षीया तीलकुमारी त्रामु र ९ वर्षीय दर्शन त्रामुको मृत्यु भएको छ।
पहिरोमा पुरिएर १० वर्षीया करिश्मा त्रामु र १३ वर्षीय धनी त्रामु घाइते भएका प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।