काठमाडौं– सञ्चार तथा सूचना, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विज्ञापन विधेयकमा राखिएको विज्ञापनरहित (क्लिन फिड)को व्यवस्था हटाउन नसकिने बताएका छन्।
राष्ट्रियसभामा दर्ता भएको 'विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक'को दफा ६ (१)मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने व्यवस्था छ। विधेयकको यो व्यवस्थामा सांसदहरु लक्ष्मणलाल कर्ण र एकवाल मियाँले संशोधन प्रस्ताव राखेका छन्। उनीहरुले क्लिन फिड भन्ने शब्द हटाउनुपर्ने प्रस्ताव गरेका छन्।
'संशोधनमा क्लिनफिड नै हटाउनुपर्छ, लागू गर्नहुन्न भनेर समेत आएको छ। यस्तो संशोधन ल्याउनु अधिकार हो, ठीकै छ। तर सरकारले यो कुरा मान्नै सक्दैन। जे गर्नका निम्ति कानुन ल्याइएको हो। त्यही नै आवश्यक छैन भनेपछि के हुन्छ? कानुनलाई नै खोस्टोमा बदल्ने कुरा गर्न सकिँदैन,' संसद्को सूचना तथा प्रविधि समितिमा भएको छलफलमा मन्त्री बाँस्कोटाले भने।
उनले संशोधनकर्तालाई राष्ट्रिय भावना बुझेर संशोधन फिर्ता लिन आग्रह गरे।
मन्त्री बाँस्कोटाले सयचोटी छलफल गरे पनि क्लिनफिड हुनु हुँदैन भन्ने कुरामा सहमति जनाउन नसकिने स्पष्ट पारे। 'क्लिनफिड अमेरिकाका राज्य-राज्यहरुमा पनि लागू भएका छन्। भारतमै पनि लागू भएका छन्,' उनले भने, 'क्लिनफिडको विषयमा दृढतापूर्वक उभिनुपर्छ।'
'क्लिनफिडको विषयमा मिडिया, कला क्षेत्र, एड एजेन्सी तथा बहुराष्ट्रिय कम्पनीहरुले पनि यसमा विरोध गरेको जस्तो लाग्दैन। सबैले यसप्रति खुसी नै व्यक्त गरेका छन् भने यसलाई छिटो भन्दा छिटो निष्कर्षमा पुर्याइदिनुभयो भने नेपालको विज्ञापन बजार, उपभोक्ताको हक हित तथा फिल्म क्षेत्रदेखि मिडिया क्षेत्र सबै नै यसबाट सन्तुलित हुन्छ,' मन्त्री बाँस्कोटाले भने। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।