काठमाडौं– मकवानपुरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ। मनहरी गाउँपालिका–९ रजैया राप्ती बगरमा गए राति साढे १२ बजे गोली हानहान भएको हो।
गोली हानाहान भए पनि कुनै क्षति नभएको मकवानपुरका एसपी मुकेशकुमार सिंहले नेपाल लाइभलाई जानकारी दिए।
मकवानपुरबाट गाँजा तस्करी गरेर भारततर्फ लैजान लागेको सूचना आएपछि घटनास्थल पुगेको प्रहरीमाथि तस्करको समूहले गोली चलाएको थियो। तस्करीमा संलग्न एक जनालाई हतियारसहित पक्राउ गरिएको एसपी सिंहले बताए।
पक्राउ पर्नेमा मकवानपुरकै राक्सिराङ गाउँपालिका–१ ढुङ्गेन बस्ने ४३ वर्षीय कुमार स्याङतान छन्। उनको साथबाट कटुवा पेस्तोल १ नाल, सो पेस्तोलमा लाग्ने गोलीको खोका १ राउण्ड, जंगी गोली ५ राउण्ड र करिब ३५ केजी लागूऔषध गाँजा बरामद भएको छ।
४/५ जना समूहमा आएका अन्य तस्करहरु भने भाग्न सफल भएका छन्।
तस्करलाई पक्राउ गर्ने क्रममा एक जना प्रहरी सहयाक निरीक्षक लडेर सामान्य घाइते भएका छन्। यसबारे प्रहरीले २ बजे पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।