काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ११ वटा राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्न आयोजना स्थलमा ‘आयोजना अनुगमन प्रणाली’ जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल समस्या समाधान कक्ष (एक्सन रुम)बाट नै ती आयोजनाको अनुगमन गर्न सिसिटिभी जडान गर्न थालिएको हो। अहिलेसम्म ५ वटा आयोजनास्थलमा ‘आइपी क्यामेरा’ जडान गरिसकिएको कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए।
उनका अनुसार प्रधानमन्त्रीले क्यामेरा जडान गरिएका पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी, भेरी–बबई डाइभर्सन र सिक्टा सिँचाइ आयोजनाको एक्सन रुमबाट अनुगमन गरिसकेका छन्।
उनले बाँकी रहेका ६ वटा आयोजनामा यन्त्र जडान गर्ने काम भइरहेको जानकारी दिए। कार्यालयमा रहेको एक्सन रुमबाट आयोजनास्थलमा जोडिएका क्यामेरामार्फत आयोजनाको प्रगति विवरणबारे जानकारी लिन सकिने छ।
यसैगरी राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व–पश्चिम हुलाकी राजमार्ग, पुष्पलाल लोकमार्ग, काठमाडौं-तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) र रानी-जमरा-कुलरिया सिँचाइ आयोजनामा क्यामेरा जडान कार्य भइरहेको कार्यालयका इञ्जिनियर विनय सुवेदीले जानकारी दिए।
'ती आयोजना बन्दै गरेका ठाउँमा क्यामेरा जडान गरिन्छ, आयोजना एक ठाउँमा सकिए क्यामेरालाई अर्को ठाउँमा सारेर अनुगमन गरिने छ,' उनले भने। यसअघि प्रधानमन्त्री ओलीले गत जेठ १५ गते ७ वटै प्रदेशमा मुख्यमन्त्रीसँग भिडियो संवाद गरेर एक्सन रुमको उद्घाटन गरेका थिए।
प्रधानमन्त्रीले प्रदेश सरकारका गतिविधिबारे मुख्यमन्त्रीसँग संवाद गर्न र राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्न एक्सन रुम बनाउन लगाएका हुन्। एक्सन रुममा रहेका यन्त्रसँग मुख्यमन्त्रीको कार्यालयमा रहेको यन्त्रलाई नेटवर्किङमार्फत जोडिएको हुन्छ।
गत मङ्सिरबाट कार्यालयमा उक्त एक्सन रुम बनाउन थालिएको हो। प्रवक्ता कुँवरले एक्सन रुमबाट प्रधानमन्त्रीले सङ्घ र प्रदेशबीच देखिएका समस्यालाई समाधान गर्न मुख्यमन्त्रीसँग जतिबेला पनि कुराकानी गर्न र आयोजनाको अनुगमन गर्नसक्ने बताए।
'प्रधानमन्त्रीले प्रदेश मुख्यमन्त्रीसँग निरन्तर मुलुकको विकासका लागि संवाद गर्नुपर्ने हुन्छ,' प्रवक्ता कुँवरले भने, 'अब प्रधानमन्त्रीलाई भेट्न सधैँ प्रदेश मुख्यमन्त्री काठमाडौं आउनु पर्दैन, एक्सन रुमबाटै नै उहाँले आफूले चाहिएका बेला मुख्यमन्त्रीसँग भिडियो संवाद गर्नुहुनेछ।'
प्रधानमन्त्रीले एक्सन रुमबाट सिधै आयोजनाको काम के भइरहेको छ भनेर अनुगमन गर्ने र आयोजनाको प्रगति हेरेर निर्देशन दिनसक्नेछन्। करीब साढे ४ करोडमा उक्त एक्सन रुम तयार पारिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।