वाइडबडी बोझ भयो : निगम अध्यक्ष, तथ्यांक भन्छ- वाइडबडीकै कारण यात्रु हिस्सा बढ्यो

उत्तम काप्री | २०७६ श्रावण ३ शुक्रबार | Friday, July 19, 2019 १५:०१:०० मा प्रकाशित

काठमाडौं– नेपाल वायु सेवा निगमको यात्रु हिस्सा ११ प्रतिशतबाट बढेर १६ प्रतिशतभन्दा बढी भएको छ। तर, निगम व्यवस्थापनले एक वर्षअगाडि नै खरिद गरेको दुई वटा वाइडबडी फुल फेजमा सञ्चालन गर्न भने सकेको छैन।

लामो दूरीको गन्तव्यका लागि भनेर ल्याइएको वाइडबडी पुरानै अर्थात् छोटो दूरीका गन्तव्यमा उडान भर्न प्रयोग गर्दै आएको निगमले तत्कालको अवस्थामा आफ्नो यात्रु हिस्सा बढाउन सफल भएको छ। तर, यात्रु हिस्सा बढाउन वाइडबडीको योगदान रहे पनि निगम कार्यकारी अध्यक्ष मदन खरेलले भने वाइडबडी फुल फेजमा सञ्चालन गर्न नसकेपछि बोझ भएको बताउन थालेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उडान तथा अवतरण गर्ने विश्वका विभिन्न एयरलाइन्स कम्पनीहरु मध्ये नेपाल एयरलाइन्स बढी यात्रु बोक्ने कम्पनीसमेत भएको छ।

अहिले त्रिभुवन अनतर्राष्ट्रिय विमानस्थलमार्फत २९ भन्दा बढी एयरलाइन्स कम्पनीले अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गर्दै आएका छन्। त्यसमा नेपाल एयरलाइन्स, हिमालय र बुद्ध एयर नेपाली हवाई सेवा प्रदायक कम्पनी हुन्।

नेपाल एयरलाइन्सको यात्रु हिसा बढ्नुमा पहिलो वाइडबडीको दिल्ली उडान र अर्को कारण जेट एयरवेजको उडान बन्द हुनु हो।

यात्रु संख्या बढे पनि नेपाल एयरलाइन्सले अनावश्यक खर्च कटौति गर्न नसक्दा व्यवस्थापनमा खर्च कटौति गर्न नसक्दा घाटा बहोर्दै आएको छ।

यसवर्ष मात्रै निगमले व्यवस्थापनमा अन्तर्राष्ट्रियतर्फ करिब साढे ४ अर्ब घाटा बेहोर्ने बताइसकेको छ। बढी यात्रु बोक्न सफल भए पनि निगमले विमान खरिदमा लिएको ऋणको किस्ता र ब्याज रकमसमेत ३ पटकको किस्ता तिर्न सकेको छैन। निगमले पुस, चैत र असारको किस्ता तिर्न नसकेको हो।

तिन किस्तावापतको रकम मात्रै साढे ३ अर्ब पुगिसकेको निगमले जनाउको छ। ऋणको किस्ता र ब्याज तिर्न नसकेको निगमले सरकारसँग २० अर्ब रुपैयाँ माग गरिरहेको छ। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालकै अवस्थामा रकम दिन नसक्ने स्पष्ट पारिसकेका छन्।

निगमको अन्तर्राष्ट्रिय हवाई यात्रु संख्यामा वृद्धि

यता निगमले सन् २०१९ को पहिलो ५ महिनामै वाइडबडी विमानका कारण अन्तर्राष्ट्रियतर्फ २ लाख ८६ हजार १ सय ७ जना यात्रालाई सेवा दिएको छ। यो संख्या अन्तर्राष्ट्रिय हवाई यात्रुतर्फको १६ दशमलब २२ प्रतिशत हुन आउँछ। सन् २०१९ को पहिलो ५ महिनामा कूल १७ लाख ६२ हजार ९ सय ५५ जना यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरिसकेका छन्।

सन् २०१८ मा नेपाल एयरलाइन्सको कूल यात्रु हिस्सा ११ दशमलब ३२ मात्रै थियो। जसअनुसार उक्त वर्ष कूल ४ लाख ९१ हजार ९ सय ७९ यात्रु नेपाल एयरलाइन्समा सवार भएका थिए। सन् २०१८ मा त्रिभुवन अन्न्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रिय हवाई यात्रु गर्नेको संख्या ४३ लाख ४२ हजार ९ सय ९९ थियो।

नेपाल एयरलाइन्सले सन् २०१९ को जनवरीमा ३ सय ६५ उडान तथा अवतरण गर्दै ५५ हजार १ सय ५३, फेब्रुअरीमा ३ सय २१ उडान तथा अवतरण गर्दै ५० हजार ३ सय ६०, मार्चमा ३ सय ५४ उडान तथा अवतरणमार्फत ६० हजार २ सय ९८, अप्रिलमा ३ सय ६ उडान तथा अवतरणमार्फत ५७ हजार १ सय १८ र मे महिनामा ३ सय ४९ उडान तथा अवतरणमार्फत ६३ हजार १ सय ७८ यात्रुलाई सेवा दिएको छ।

यसैगरी, हिमालय एयरलाइन्सले ५ महिनामा ७१ हजार ८ सय ७६ यात्रु बोक्न सफल भएको छ। साथै भारतको वनारस र कलकत्ता उडान गर्दै आएको बुद्धले पनि ३ हजार ४ सय ४९ यात्रुलाई सेवा दिएको छ।