नेवानिको प्रवक्ताबाट हटाउन दबाब दिएको भन्दै पाइलट लामाद्वारा उड्डयन प्राधिकरणविरुद्ध मुद्दा

नेपाल लाइभ | २०७६ श्रावण ३ शुक्रबार | Friday, July 19, 2019 १५:०४:०० मा प्रकाशित

काठमाडौं– नेपाल वायुसेवा निगम (नेवानि)का वरिष्ठ पाइलट विजय लामाले नागरिक उड्डयन प्राधिकरणविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्।

लामाले नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्स व्यवस्थापनलाई दबाब दिएर आफूलाई प्रवक्ता पदबाट हटउन लगाएको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका हुन्।

लामाले प्राधिकरणका वरिष्ठ क्याप्टेन डिआर निरौलासहितको टिमलाई मुद्दा दायर गरेका हुन्। नेपाल एयरलाइन्सको विमान उडानमा रोक लगाउँदै ड्रागन एयरको विमानलाई विमानस्थल कार्यालयले उडान अनुमति दिएको विषयमा पाइलट लामाले मिडियामा दिएको अभिव्यक्तिको विषयमा प्राधिकरणले उनलाई कारबाही गर्न निगममा सिफारिस गरेको थियो।

नेपाल एयरलाइन्सले 'लामालाई पाइलट र प्रवक्तामध्ये एकमा मात्रै भूमिका दिनु' भन्दै निगमलाई भदौ दोस्रो साता पत्र काटेको थियो। प्राधिकरणले काटेको पत्रमा 'अन्यथा लामाको पाइलट लाइसेन्ससमेत सस्पेन्ड गर्ने' उल्लेख गरेको थियो।

प्राधिकरणको पत्र लगत्तै निगमका कार्यकारी अध्यक्ष मदन खरेलले उनलाई निगमको प्रवक्ताबाट हटाएका थिए।

पाइलट लामाले उडानका क्रममा आफू शारीरिक र मानसिक रुपमा तनावमा रहेको अन्तर्वार्ता दिएपछि प्राधिकरणले उनलाई स्पष्टीकरण सोधेको थियो। (तस्बिर-क्याप्टेन लामाको फेसबुक पेज)